कोरोनाको भ्याक्सिन सर्वसुलभ हुँदासम्म २० लाख जनाको मृत्यु हुने डब्लुएचओको प्रक्षेपण
काठमाडौं। विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख पुग्नै लागेको छ । यही समयमा अब कोरोनाभाइरसको भ्याक्सिन अन्तिम चरणमा पुग्न लागेको रिपोर्ट पनि आइरहेका छन् । तर, विश्व स्वास्थ्य संगठनले भने भ्याक्सिन सर्वसुलभ रुपमा उपलब्ध हुँदासम्म २० लाख मानिसको यो भाइरसका कारण ज्यान जान सक्ने प्रक्षेपण गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि महामारीविरुद्ध लड्नको लागि संगठित भएर कदम नचाल्ने हो भने मृत्यु हुनेहरुको संख्या २० लाख भन्दा पनि धेरै हुन सक्छ । अहिलेसम्म विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ५ सयभन्दा धेरै भइसकेको छ र विश्वभर संक्रमितको संख्या ३ करोड २७ लाख ७० हजारभन्दा धेरै भइसकेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक माइक रयानले जेनेभामा आयोजत कोरोनाभाइरस सम्बन्धी एक पत्रकार सम्मेलनमा भने ‘हामी अझैसम्म त्रासदीबाट कुनै पनि किसिमले बाहिर निस्कन सकेका छैनौं ।’ उनले नयाँ संक्रमणका केसहरुको लागि युवाहरुलाई दोष दिन नहुने बताउँदै भने ‘आशा छ हामीले एक अर्काविरुद्ध औंला उठाउने छैनौं ।’
माइक रयानले अगाडि भने ‘घरमा हुने पार्टीहरुबाट पनि महामारी बढिरहेको छ जुन पार्टीमा हरेक उमेर समूहका मानिसहरु सहभागी हुन्छन् ।’ माइक रयानले २० लाख मृत्युको विषयमा जोड दिँदै भने ‘२० लाखको मृत्युको सम्भावना केवल आँकलन होइन बरु यस्तो हुने आशंका निकै अधिक छ ।’ विश्व स्वास्थ्य संगठनले विश्वभर समानुपातिक रुपमा भ्याक्स्नि उपलब्ध गराउन सुरु गरिएको कोभ्याक्स अभियानमा चीनलाई सहभागी बनाउन पनि प्रयास भइरहेको जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment