कश्मिरमा दमन गर्ने भारतीय प्रहरीलाई प्रशिक्षण नदिन माग गर्दै इजरायलमा मुद्दा

डिसी नेपाल
११ असोज २०७७ १४:२६
12
Shares

काठमाडौं। इजरायलको सुरक्षा बलले भारतीय प्रहरीलाई दिइरहेको प्रशिक्षण रोक्न माग गर्दै इजरायलका दर्जनौं अभियानकर्मीहरुले त्यहाँको सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अल जजीराको समाचार अनुसार उनीहरुले भारत प्रशासित कश्मिरमा मानव अधिकार र अन्तर्राष्ट्रिय कानुन उल्लंघनका दोषी भारतीय प्रहरीहरुलाई प्रशिक्षण दिइएको भन्दै सो रोक्न माग गरेका हुन् ।

‘यो मुद्दाको माध्यमबाट हामीले कश्मिरी नागरिकहरुप्रति सक्दो ऐक्यबद्धता प्रकट गर्ने प्रयास गरेका छौं’ इजरायली मानव अधिकार अभियन्ता सिगल कुक अभिभिले अल जजीरासँग भने । उनी मुद्दा दायर गर्ने ४० अभियानकर्मीमध्येका एक हुन् । इजरायल प्रहरी, त्यहाँको आन्तरिक सुरक्षा मन्त्रालय र विदेश मन्त्रालयले भारतको मुस्लिम बहुल कश्मिरका भारतीय प्रहरीहरुलाई प्रशिक्षणमा सहभागी गराउनुअघि मानवअधिकार उल्लंघनमा सहभागी भए–नभएको जाँच गर्ने प्रस्ताव अस्वीकार गरेपछि गएको जनवरीमा यो दस्तावेज तयार भएको मुद्दा अभियोजनकर्ता अधिवक्ता इताय मकले बताए ।

इजरायलमा गत हप्तादेखि पुनः लकडाउन लागू गरिएपछि अदालतमा यसको सुनुवाइमा भने ढिलाइ हुने देखिएको छ । अभियोजनमा भारत विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भएको साथै इजरायल र पश्चिमी देशहरुको लागि महत्वपूर्ण राजनैतिक र आर्थिक साझेदार भएको भन्दै अन्तर्राष्ट्रिय कानुनका गम्भीर दोषीहरुलाई इजरायली सुरक्षाकर्मीले प्रशिक्षण दिएर सहयोग गर्नुको नैतिक र कानुनी औचित्य नदेखिने उल्लेख छ । अभिभिले भने ‘विश्वको नागरिकको हैसियतमा हामी (कश्मिरीहरुलाई) भन्न चाहन्छौं कि हामीलाई थाहा छ तिमीसँग के भइरहेको छ । हामी बेवास्ता गर्दैनौं, हामी सुन्छौं, हामी देख्छौं, हामी बुझ्छौं ।’

गएको मे महिनामा इजरायल सरकारले सर्वोच्च अदालतसँग यो मुद्दा खारेज गर्न माग गरेको थियो । उसले भारतीय प्रहरीका जवानहरुको अनुसन्धान वा स्क्रिनिङ गर्नु भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने तर्क गरेको थियो । यसले दुई देशबीचको सम्बनध बिगार्ने इजरायल सरकारको तर्क थियो । प्रकाशनको समयमा भने इजरायली विदेश मन्त्रालय र भारतीय गृह मन्त्रालय दुवै प्रतिक्रियाको लागि उपलब्ध हुन सकेनन् । भारत र इजरायलले २०१४ मा दुई देशबीच सुरक्षा सहयोग आदान प्रदान गर्ने सम्झौता भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.