‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’

रासस
११ असोज २०७७ १९:२४

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गरे । “बन्दीपुर पूर्णरुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ”, थापाले भने ।

उनले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको बताए । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिए। “कोरोना कहरले बन्दीपुरको होटल व्यवसायीलाई नराम्रो असर परेको छ, होटल व्यवसायीको प्रबद्र्धनका लागि सहयोग गर्न तयार छौँ”, थापाले भने ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ सभापति वैश गुरुङले पर्यटक स्वागत गर्न व्यवसायी आतुर रहेकाले बन्दीपुर भ्रमण गर्न आग्रह गरे । क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा आइसकेकाले पर्यटक स्वागत गर्न बन्दीपुर तयार रहेको सन्देश फैलाउन आवश्यक रहेकामा जोड दिए । बन्दीपुर सामुदायिक होमस्टे समितिका अध्यक्ष दिलकुमारी रानाले कोरोनाका कारण थला परेको होमस्टे तथा होटेलको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्नुपर्र्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर कोरोनामुक्त छ भन्ने सन्देश देशभर फैलाएर आन्तरिक पर्यटक बन्दीपुर भित्र्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *