कविताः आइमाई बस्ने घर
युगौदेखि
आमाहरुको घर थिएन
हजुरआमालाई सानैमा
उफ्रिने, प्याउलिने कलिलैमा
हजुरबासँग जोडी बाँधिदिए रे
डोलीमा राखेर घर पठाए रे,
हजुरआमा सधै नै
हजुरबाको घरमा बस्नुभो
हजुरबाको घर रेखदेख गर्नुभो
सदियौदेखि
हजारौं हजुरआमाहरु
बाजेहरुका घर रुङेर
बाजेहरुका सन्तान स्याहारेर
मृत्युसँग अङालो मारे
लोग्ने मान्छेले जता गए
जे गरे, जे बोले
टाउको कपाल केही नदुखाउने सँस्कार
छेक बार, तगारो नलाउने चलन
चलिरह्यो, बाँचिरह्यो
खुट्टाका औंला जस्तो हुन
खुट्टाका पाइताला जस्तो होस
खराउखुट्टे या भुइँखुट्टे
खुट्टाका आकार प्रकार
कहिल्यै हेरिएनन्
खुट्टाका जुत्ताहरु फेरिरहे
अनि निर्धक्कसँग
वाक्यहरु निस्किरहे
खुट्टा भए जुत्ता कति कति
जुत्ता र आइमाईको घर
तौलिरहन्थे म,
केलाइ रहन्थे म ,
यही शब्दको अर्थलाई
सुन्थे, मेरी आमालाई
काकाले भनेको
फलानाको छोरीले
फलानाको छोरीलाई
हो, मेरी आमाको घर थिएन
बुबाको घर कहिलै उनको भएन
त्यो घर काकाको थियो
त्यो घर बडाबाउको थियो
मेरी आमा जहिल्यै
बाहरुको घरमा बसिन्
भोगाइहरुको पीडाको
ढाकर बिसाउन
मनको ब्यथा बिसाउन
माइत पुग्दा
अझै दुख्थिन्
त्यो घर केवल
उनको भाइको थियो
माइतीघरका भित्ताहरु
भाइका सन्तानहरुका थिए
थिएन उनको अस्तित्व
थिएन उनको आफ्नोपन
आँखाको डिलै डिल आँसु झार्दै
भक्कानोको हिक्कासँगै
मरिसकेकी आमालाई सोध्थिन ।
आमा ! तिमी त पर… छौ ।
त्यही बाट भनिदेउन आमा ।
आमा ! आइमाईको घर कुन हो ?
आमा ! आइमाई काँ बस्नु?
आमा !! खोइ आइमाईको घर ??
मेरी आमाको हिक्कासँगै
आमाको भक्कानोको प्रश्न सँगै
म अर्की आइमाई
मेरी आमाले जन्माएकी आइमाई
आमालाई उत्तर दिँदैछु
म आफ्नै घर खोज्दै छु
आइमाईको पहिचान भएको
लोग्नेको दासत्व नभएको
पितृसत्तात्मक जाँतो नभएको घर
जहाँ आइमाई पूर्ण बाँचोस
जहाँ आइमाई खुलेर हाँसोस
आमा !! म बनाउँदैछु ।
हजारौं आइमाई बस्ने घर ।
पटकपटक घनले बजारे पनि
नभत्किने बलियो चट्टानी घर
नियतिका बज्रपातले छिट्याय पनि
पीडाका बाछिटा नछिर्ने घर
मलाई गलत नसोच आमा !!
म आइमाई बस्ने घर बनाउँदैछु
म आइमाईको मन अड्ने घर बनाउँदैछु आमा !!







डिसी नेपाल








Facebook Comment