संसदमा बाहुबल प्रदर्शन : लोकतान्त्रिक दलको निन्दनीय तमाशा

जगदीश दाहाल
२० असोज २०७७ १३:१४

पाँच नम्बर प्रदेशको राजधानी सार्ने विषयले यतिबेला नेपालको राजनीति तात्तिएको छ। त्यसको पक्ष र विपक्षमा वहश र विरोध भएका छन्। राजनीतिमा आफ्नो पायक पर्ने ठाउँमा केन्द्र वा राजधानी बनाउन खोज्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ।

फेरि लोकतन्त्रमा बहुमतको कदर हुन्छ। अहिले पाँच नम्बर प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ। त्यस अर्थमा पनि उसले चाहेको ठाउँमा राजधानी हुने नै भयो।

तर सोमबार पाँच नम्बर प्रदेशसभामा जे भयो, त्यो लोकतान्त्रिक मूल्य मान्यता विपरित भयो। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले जुन किसिमको चरित्र प्रस्तुत गरे, त्यो लोकतन्त्र सुहाउँदो थिएन। अझ आफूलाई संसदीय राजनीतिको सबैभन्दा पुरानो दल भन्ने कांग्रेसका लागि त्यो पाच्य हुने विषय पनि थिएन।

केही प्रदेशसभा सांसदहरुको उद्दण्ड, अशोभनीय, उच्छृंखल गतिविधि संसदीय मर्यादा सुहाउँदो थिएन। त्यसमा पनि लोकतान्त्रिक संसदीय पद्धतिको हिमायती नेपाली कांग्रेस जस्तो पार्टीका सांसदले संसदभित्र जुन किसिमको क्रियाकलाप प्रस्तुत गरे, त्यो कुनै पनि उद्दण्ड, अराजक, असंसदीय, एकतन्त्रीय कम्युनिष्ट पार्टीका सांसदले पनि गर्न नसक्ने क्रियाकलाप थियो। लोकतान्त्रिक पार्टीका सांसदले यस्तो चरित्र देखाउनु अत्यन्त दुःखदायी विषय हो।

विपी कोइरालाको छत्र छायाँमा हुर्किएको कांग्रेस भित्र यस्तो अराजक अवस्था आउँदा लोकतन्त्रप्रति आस्था राख्ने जो कोहीलाई पनि दुःख लाग्ने विषय हो।  यस्ता क्रियाकलापले के देखाउँछ भने कांग्रेसभित्र अराजनीतिक चरित्र झागिँदै गएको छ। यही कारणले गर्दा कांग्रेसप्रति जनताको झन विश्वास गुम्न सक्ने स्थिति आउन सक्छ।

प्रदेशमा यस्तो अराजक गतिविधि भइरहँदा कांग्रेस केन्द्रले समेत यस विषयमा केही बोलेन। आफ्ना सांसदहरुको अमर्यादिन गतिविधिप्रति लगाम लगाउने, फेरि यस्ता क्रियाकलाप नगर्ने निर्देशन दिनुपर्ने र आवश्यक देखिएमा कारवाही समेत गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना केही उद्दण्ड सांसदहरुको हर्कतका विषयका एक शब्द पनि नबोल्नु, औपचारिकताका लागि प्रवक्ता वा अन्य कोही केन्द्रीय सदस्यले बोल्नु कांग्रेस पार्टीका लागि सुहाउने विषय होइन।

विपी कोइरालाको छत्र छायाँमा हुर्किएको कांग्रेस भित्र यस्तो अराजक अवस्था आउँदा लोकतन्त्रप्रति आस्था राख्ने जो कोहीलाई पनि दुःख लाग्ने विषय हो।  यस्ता क्रियाकलापले के देखाउँछ भने कांग्रेसभित्र अराजनीतिक चरित्र झागिँदै गएको छ। यही कारणले गर्दा कांग्रेसप्रति जनताको झन विश्वास गुम्न सक्ने स्थिति आउन सक्छ।

लोकतान्त्रिक भन्ने पार्टीले नै लोकतान्त्रिक विधि र परम्पराको धज्जी उडाउँदा अन्य मित्र शक्तिराष्ट्रहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ। यही अलोकतान्त्रिक हर्कत र यस्ता हर्कत रोक्नेतर्फ पर्याप्त पहलसमेत नभएको स्थितिका कारण विदेशी शक्तिराष्ट्रको नजरमा कांग्रेसको साग गिर्न सक्छ। विश्व समुदायले कांग्रेसलाई विश्वास नगर्ने स्थिति आउन सक्छ।

यस्तै हर्कतहरु दोहोरिँदै जाँदा कांग्रेस राजनीतिक रुपमा स्थापित नरहने अवस्था आउन सक्छ। यसरी बुझ्दा कांग्रेसको भविष्य के होला? यसतर्फ कांग्रेसले नै सोच्नुपर्छ। विरोध गर्ने शैली र तरिका धेरै हुन सक्छन्।

आफूलाई चित्त नबुझेको विषयमा विरोध गर्न पाउने संवैधानिक हक सबैलाई छ। तर विरोधका तरिका फरक हुनुपर्छ, लोकतान्त्रिक हुनुपर्छ। विरोधकै लागि भनेर यसरी तोडफोड गर्नु निन्दनीय काम हो।

जसले गरे वा गराइएको भएपनि समग्र कांग्रेसको राजनीतिक छविलाई सिध्याउने काम भएको छ। आउने चुनावमा अहिलेकै सत्तालाई जनताले पत्याउनु पर्नेतिर कांग्रेसका यस्ता गतिविधिले सहयोग गरेको छ।

अहिलेको कांग्रेसको नेतृत्व अध्ययनशील भएन। नेतृत्वमा दूरदर्शीता भएन र राजनीतिक रुपले विचार पुर्याएर कदम चाल्ने किसिमको भएन भने कुनै पनि राजनीतिक दल पतन हुन बेर लाग्दैन।

सत्तासँग मिलेमतोमा भाग लिएर खाने/बस्ने किसिमको क्रियाकलाप अहिलेका प्रतिपक्ष दलका नेताको देखिनु र सोमबार बुटवलको प्रदेशसभामा ससदस्यबाट त्यस किमिसको चरित्र प्रस्तुत हुनु कतै कांग्रेसलाई आउने संसदीय निर्वाचनमा अझ कमजोर बनाउने र शून्यतिर झार्ने मानसिकताबाट काम भइरहेको त होइन? कांग्रेसप्रति चासो राख्ने सरोकारवाला कांग्रेसी बुद्धिजिवीको चिन्ताको विषय बनेको छ।

आन्तरिक किचलोमा रुमल्लिएको कांग्रेसलाई यस्ता क्रियाकलापले फाइदा गर्दैन। आगामी निर्वाचनमा पहिलो दल हुने गरी संगठन विस्तार गर्नुपर्ने बेलामा आन्तरिक किचलोमा रुमल्लिएको छ र सत्तापक्षसँग भागवण्डा खोजिरहेको विषयले समग्र पार्टी नेता कार्यकर्तालाई निराश तुल्याएको छ।

त्यसमा पनि सांसदका यस्ता क्रियाकलापले कांग्रेसप्रति जनतामा निराशा पैदा हुने स्थिति आउन सक्छ। कांग्रेसले अहिल्यै सोच्नुपर्छ अर्को निर्वाचनपछि देश र सरकारको नेतृत्व गर्ने कि नगर्ने ।

यदि नेतृत्व चाहिएको हो भने जनताका अगाडि त्यही अनुसार प्रस्तुत हुनुपर्छ र जनताको मन जित्नुपर्छ । बाहुबल प्रदर्शन गरेर अखडामा जितिएला तर यस्तो शैलीले चुनाव जितिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *