अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद्को भवन निरीक्षण
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद्को भवनको आज निरीक्षण गरेका छन् । कोभिड–१९ का कारण निर्माणमा केही बाधा पुगे पनि निर्माण उत्साहपूर्वक रुपमा अगाडि बढिरहेकामा उनले खुशी व्यक्त गरे ।
पहिले सङ्घीय संसद्का लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउँदै आएका परिपेक्ष्यमा कम्तीमा पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको सभाहल छिट्टै तयार गरी सञ्चालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने बताउँदै उनले निर्धारित समयअगावै निर्माण सम्पन्न गर्नका लागि योजना बनाउन निर्माण कम्पनी तथा सरोकार पक्षलाई निर्देशन दिए ।
अध्यक्ष तिमिल्सिनाले सार्वजनिक रुपमा निर्माण गरिने विकासनिर्माणका योजनालाई समयअगावै सम्पन्न गर्नका लागि केवल आठ घण्टा मात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समयअगावै निर्माण सम्पन्न गरेर अन्य निर्माणमा संलग्न पक्षलाई प्रोत्साहनसमेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाव पनि दिए । करीब रु नौ अर्बको लागतमा बन्न लागेको सो भवनको निर्माण तीन वर्षभित्र सम्पन्न गरिने लक्ष्य छ ।
No ads found for this position


Facebook Comment