उनको सर्वश्व अर्पणको चाहना (कविता)
उनको सर्वश्व अर्पण गर्ने चाहना छ
सर्वस्व नेयुछाबर गर्ने दृढ इच्छा छ
कमाको जति सिकेको जति र भोगेको जति सबै बाँड्ने अठोट छ
र सबै किसिमका ऋण बन्धन बाट उऋण हुने लक्ष्य छ।
त्यसैले उनि भन्दै छन् म सबैलाई दिन चाहन्छु
त्यसैले उनि भन्दै छन् म सबैलाई आल्हादित गराउन चाहन्छु
मेरो संचितीको सर्वश्व खन्याउन चाहन्छु,
र खाली गर्न चाहन्छु मेरो जिन्दगीभरीको कमाइ।
त्यो कमाइ जुन दिन रात नभनि संचित गरिएको छ,
वाल्यकालदेखि वृद्धावस्था सम्मको मेहनतले भरिएको छ,
सदगुरूहरूले अभिमन्त्रित अथाह सम्पदाले झकिझकाउ छ,
असंख्य शास्त्रहरूको सारले भरिएर छताछुल्ल पोखिएको छ।
वाल्यकालको वालशुलम पनि छ यस ढिकुटीमा
यौवनको सम्वेदनशील तरंङ र उत्तेजना पनि छ यस भकारीमा,
रतिरागात्मक सुमधूर ध्वनी गुन्जयमान–भई रागमा बहेको सारपनि छ यस भण्डारमा
क्रिडा प्रवाह र वहाव भित्रको भावानुभूतिको मिठो स्मरण पनि छ यो संचितीमा
धून छ, तरङ्ग छ र संवेदनशीलताको आधार छ
जीवन वैभिष्टताका क्रममा आएका विविध प्रपन्चको सार छ,
सुःखको उमंग छ, सूमधूरता छ र क्रान्ति छ,
दुःखसितको लडाइमा विजय प्राप्तिबाट प्राप्त शान्ति छ,
अनि,
हाँसोको होली छ लालिमाको गोली छ,
यत्र तत्र सर्वत्रको सप्तरंगी झोली छ,
मधु मिठास भरिएको व्यन्जनायूक्त सिर्जना छ,
र ती सप्पै भोगेका यथार्थतालाई सम्पूर्णरूपमा बाँड्ने तिर्सना छ।
शास्त्रहरूको मर्म केलाउँदा केलाउँदै जीवनको उत्तरार्धमा आइपुगेको,
संसारको मोहमा गाँजिएर, भाँडिएर थाहै नपाइ दलदलमा भासिएको,
यथार्थता समात्न खोज्दा खोज्दै दिशा भ्रमित भएर खान सम्मको हण्डरहरूमा जाक्किएको
थुप्रै थुप्रै पटमूर्खताका व्यवहारले निचोरिएको,
प्रत्येकलाई भोगौ भोगौ लाग्ने तर भोगेर पार नलाग्ने
सत्यको अनुभूति र अनुभवको गाडधन छ,
मनको विश्रान्तीलाई समात्ने मूख्य कुन्जी नै छ
ज्ञान, आरोग्य, वैराग्य, योग र भोगको अमृत घडा नै छ।
सिद्धहरूको सिद्धान्त र प्रयोगकर्ताको ज्ञान परख गर्ने सुक्ष्म तोड छ
अनि जटिलताका ज्वाराभाटालाई किनारा लाउने कडी पनि छ,
नैराश्यतालाई परास्त गरी स्वफूर्ती प्रत्यारोपण गर्ने प्रवाह पनि छ
पीर र तापका जलनले जलेका मनलाई व्यूताउने जडी पनि छ।
त्यस्तै,
राजनीति–अनितिको खेलमा तिकडम चलाउने दाउ छ,
अर्थनीति–अनितिको मेलामा झालझेल गर्ने चलाखी छ,
धर्मदर्शनहरू–कूदर्शनहरूको स्वाङ तोडने तोडन छ
अनि पाखण्डको पटापेक्ष गर्ने तार्किकहरूका जोडन छ ।
अनि फेरि उनि भन्छन्,
आओ आओ, लैजाओ लैजाओ भण्डार खुला छ
झोला भरी भरी, वोरा भरीभरी लग खजना भरी छ
जीवन भरीका लागि लग, सन्तान दरसन्तानका लागि लग,
आफ्ना लागि लग आफन्तका लागि लग, लग पूरै संसारलाई वाँड्न पूग्ने गरी लग,
यो ज्ञान भण्डार अखण्डित छ,
जति खर्च ग–यो त्यति बढ्छ,
जति लुटाउछाैं त्यति बढ्छ
अनि लुकाउदा भने घट्छ, खुम्चिन्छ र बिलाउँछ।
यो संवेदनशील सम्पदा हो
समयसितै दौडिने तर आर्जित कला हो,
समयको गतिसित दौडिन्छ
समयसितको सापेक्षित सम्वन्धमा मात्र वौरिन्छ,
समयसित गासिएको छ, समयसितै उनिएको छ,
समयले सिर्जेको यो अकुत सम्पत्तिको उपयोग समयापयोगी छ ।
जगत परिवर्तनशील छ समयको चक्रमा, समयको उपयोग गरौं
समय रोक्न सकिन्न, समय सम्पदाको उपभोग गरौं ।
आऔं समयले सिर्जेको ज्ञानको भण्डार खुला छ
थाक थाक, थान थान मै कव्जा गरौं,
थोक थोक र खुद्रा खुद्री सबै आफ्नो बनाऔ
जरै देखि अवलोकन गरौ र पूर्णतामा अपनाऔ ।
पूनश्च, उनी भन्छन्
म सर्वस्व खन्याउँन चाहन्छु,
समयचक्रको खेलमा आर्जेको आर्जन अकूल सम्पति समर्पण गर्न चाहन्छु
सप्पै खर्लप्पै यो माहाभण्डारलाई सुम्पिन चाहन्छु,
र अलिकति भएपनि ऋणवाट उऋण हुन चाहन्छु,
समय माहागुरूज्यू को माहाऋणवाट
र ती सवैको ऋणवाट जस्ले भ्रुणदेखि एउटा सिगोंमान्छे बनाए,
यात्रा नियात्रामा मनप्राण ओछयाएर
समयको चक्र कूचक्रो माहाज्ञान सिकाए,
आऔ व्रम्हलुट मच्चाउ, व्रहमलुट गरौ,
समयले प्रदान गरेको माहाज्ञानको सदुपयोग गरौ,
र अन्तमा, उनी भन्छन्,
म सर्वश्वदान गर्न चाहन्छु
चाहिने, नचाइने जसले लगे पनि हुन्छ,
समयले सिकाएर थुपारेको अलल्य र
अनन्त सप्पदाको भण्डार पूर्णतः खुला छ,
धक फुकाएर लगे हुन्छ र बाँडे हुन्छ
म अनन्त सवै सर्मपण गर्न चाहान्छु,
माहादान गर्न चाहान्छु, सबै प्रकारका ऋणवाट उऋण हुन चाहान्छु
माहादान गर्न चाहन्छु, सबै प्रकारका ऋणवाट उऋण हुन चाहन्छु ।
आओ आओ, लैजाओ लैजाओ भण्डार खुला छ
आफ्ना लागि लग आफन्तका लागि लग, लग पूरै संसारलाई वाँड्न पूग्ने गरी लग । । । शुभम् । ।
प्रा.डा.मेदनीप्रसाद भण्डारी विश्वव्यापी रूपमा परिचित पर्यावरणवादी र मानववादी विज्ञ हुन्। उनी विश्व प्रसिद्ध पत्रिका ऊर्जा र वातावरणको लागि रणनीतिक योजनाका प्रमुख सम्पादक पनि हुन्।उनी अकामाई विश्वविद्यालय, हिलो,हवाई,संयुक्त राज्य अमेरिका र युक्रेनको सुमी स्टेटयुनिभर्सिटीमा प्राध्यापक छन्।
प्रोफेसर भण्डारीले विभिन्न अन्तर्राष्ट्रिय पत्रिकामा सयौं वैज्ञानिक कार्यपत्र प्रकाशित गर्नुका साथै जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरूमा अनेक पुस्तकहरू प्रकाशित गरेका छन्। प्रा भण्डारी एसिया वातावरणीय दैनिकको सम्पादकीय बोर्ड सदस्यका साथै विचार तथा सम्पादकीय पृष्ठको प्रबन्धक सम्पादकको रूपमा पनि कार्य गर्छन्। उनी र प्रजीता भण्डारी संयुक्त रुपमा तीन वटा कविता संग्रह प्रकाशित छन्। प्राध्यापक भण्डारीका अंग्रेजी भाषामा पनि धेरै कविता हरु प्रकाशित भएका छन्।







डिसी नेपाल








Facebook Comment