अब कोरोनाको निःशुल्क उपचार नहुने, १० दिनमै डिस्चार्ज गरिने

डिसी नेपाल
२ कार्तिक २०७७ १७:४५

काठमाडौं। सरकारले कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको छ। यो निर्णय आइतबारदेखि नै लागू भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनले मन्त्रिपरिषद्ले गएको असोज १९ गते नै यस्तो निर्णय गरेको जानकारी दिए। उनले भने, ‘आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो छ। उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ।’

प्रवक्ता गौतमले यी बाहेक संक्रमितले उपचार खर्च आफै व्यहोर्नुपर्ने जनाए। यस्तै अब कोरोना संक्रमितहरु अस्पतालबाट १० दिनमै डिस्चार्ज हुने भएका छन्। प्रवक्ता गौतमले कोरोनाको लक्षण नदेखिएको पछिल्लो ३ दिन पुगेको अवस्थामा १० दिनमै डिस्चार्ज गरिने निर्णय भएको बताए। उनले त्यसरी डिस्चार्ज हुनेहरु अनिवार्य रुपमा आफ्नै घरमा कम्तिमा ७ दिन आइसोलेशन बस्नुपर्ने बताए। यसअघि १४ दिन पुगेमा डिस्चार्ज गरिँदै आइएको थियो।

यस्तै मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरुको क्वारेन्टिन सम्बन्धि मापदण्डमा पनि संशोधन गरेको छ। प्रवक्ता गौतमले ७ दिन ड्युटीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरुमा लक्षण देखिएमात्र क्वारेन्टिन बस्ने व्यवस्था गरिएको बताए। यसअघि ७ दिन ड्युटी गरेकाहरुलाई अनिवार्य ७ दिन क्वारेन्टिन गरिँदै आइएको थियो।

यस्तै मन्त्रालयले सरकार, निजी, सामुदायिक तथा सहकारी अस्पतालहरुलले कम्तिमा ५० प्रतिशत बेडहरु कोरोनाका लागि छुट्याउनुपर्ने निर्णय गरेको बताएका छन्। यसअघि २० देखि ३१ प्रतिशत वेड छुट्याउनुपर्ने व्यवस्था थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *