सरकारले संक्रमितको उपचारका लागि राम्रो प्रबन्ध गरेको दावी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिमण्डलका सबै सदस्यहरुले दशैं भत्ता बापतको रकम कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा सो जानकारी दिएका हुन्। उनले कोरोना महामारी विस्फोटक रुपमा फैलिएको अवस्थामा सो रकम कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए। सांसदहरुले दशैं भत्ता बुझेकोमा चर्को आलोचना भएपछि नेकपा र काँग्रेसले संस्थागत निर्णय नै गरेर सो रकम कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्।
मन्त्री गुरुङले सरकार कोरोना संक्रमितको उपचारबाट नभागेको समेत स्पष्टीकरण दिएका छन्। उनले गएको असोज १९ गते मन्त्रिपरिषदले वर्गीकरण गरेर उपचारको प्रबन्ध मिलाएको दावी गरे। तर, सरकारले गरेको सो निर्णयअनुसार सोमबारदेखि नै अस्पतालहरुले कोरोना संक्रमितको उपचार खर्च लाग्ने सूचना सार्वजनिक गरिसकेका छन्। मन्त्री गुरुङले सरकारले महामारीबाट हात उठायो भन्ने चर्को आलोचनापछि स्पष्टीकरण दिएका हुन्।
यस्तै उनले काठमाडौं उपत्यकामा १५ दिन भित्र २ सय आईसीयू बेडको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए। उनले यो पटकको दशैं जो जहाँ छौं त्यहिँबाट मनाउन पनि अपील गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment