नेपाली सेनाले गर्यो निवर्तमान रक्षा मन्त्री पोखरेलको विदाइ
काठमाडौं। नेपाली सेनाले उपप्रधान तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको सम्मानमा विदाइ कार्यक्रमको आयोजना गरेको छ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सम्मान कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्रीको रुपमा पोखरेलकोे तीन वर्षे कार्यकालमा गरेको मार्ग निर्देशन नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका लागि धन्यवाद दिएका थिए।
प्रधानसेनापति थापाले पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयका कामहरुमा सहजता र सरलता अनुभुत भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापना जस्ता धेरै उपलब्धि हासिल हुनुमा पोखरेलको नेतृत्व महत्वपूर्ण रहेको बताएका थिए।

उक्त बिदाई कार्यक्रममा प्रधानसेनापति थापाले निवर्तमान रक्षामन्त्रीलाई सम्झना स्वरुप मेमेन्टो समेत प्रदान गरेका थिए।
सो कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो रक्षामन्त्रीको कार्यकालको क्रममा नेपाली सेनाले राष्ट्रिय विपद्का दौरान गरेका उद्धार तथा राहत, कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरीरहेको भूमिका तथा नेपाल सरकारबाट प्राप्त अन्य विकास निर्माण, प्रकृति संरक्षण आदी महत्वपूर्ण कार्यहरुको स्मरण गर्दै आफ्ना जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गरेकोमा प्रशंसा गरेका थिए। उनले आफू जुन सुकै नियुक्तिमा रहेता पनि नेपाली सेनालाई सदैव सहयोग गरीरहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment