जनता अभिभावकविहीन बनेकोमा पीडाबोध भइरहेको छः पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाली जनता अभिभावकविहीन बनेकोमा पीडाबोध भइरहेको बताएका छन्।
दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले बिहीबार यस्तो बताएका हुन्।
शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’
शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन्।
‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ।
शाहले विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्रम,सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन्। ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजाले भनेका छन् ।
शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको बताएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment