फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अलपत्र

डिसी नेपाल
८ कार्तिक २०७७ २२:१८

नयाँ दिल्ली । बेलाबेला भारतमा नेपालीहरुले विभिन्न घटना घटाउने गर्छन् । तिनको निकै चर्चा पनि हुने गर्छ । भारतका विभिन्न शहरहरुमा नेपालीहरुको हत्या, नेपाली युवाको लुटपाटमा संलग्नताकासाथै सामाजिक विकृत्ति बढ्दै गएको भन्ने समाचारहरुले अखबारका भित्ता पनि भरिने गर्छन् । दिल्ली, मुम्बई र बेङ्ग्लोर जस्ता ठूला शहरहरुमा दिनानुदिन महिलाहरु बेपत्ता हुनु सामान्य खबर जस्तै भएको छ ।

पछिल्लो केहीदिनयता एउटा घटना भारतमा भाइरल भइरहेको छ । सन्तान हुँदाहुँदै श्रीमानले अर्कै विवाहित दुई सन्तान भएकी महिलालाइ भगाएको समाचार अहिले भारतमा निकै भाइरल भइरहेको छ । भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बई शहरको कल्याणमा नेपालदेखि आफ्नो श्रीमान भेट्न आएकी महिला श्रीमानको फेसबुक प्रेमले गर्दा आज एक्लो अवस्थामा भौतारिनु परेको बताउँछिन् ।

पिडित पक्षले दिएको जानकारी अनुसार नेपाल घर दैलेख जिल्ला दल्लु नगरपालिका ३ पालि धारखोला निवासी नमराज कार्की र नेपाल घर सुर्खेत जिल्ला चैकुने गाउँपालिकाका जगत कार्कीकी श्रीमती बिमला थापा २३ ओक्टोबरदेखि मुम्बईबाट एक्कासी बेपत्ता भएका हुन् ।

भारतको मुम्बई शहरमा कार्यरत नमराज कार्कीको आफ्नो परिवारमा २ वर्षीय दुधे बच्चा छ । आफ्नो सम्पन्न परिवार हुँदा हुँदै कार्की अर्कै विवाहित महिलालाई लगेर भागेपछि यतिबेला उनको परिवार मुम्बईमा अलपत्र अवस्थामा छ । पीडित महिलाले जानकारी दिए अनुसार उनका श्रीमान कार्की र बीमला सामाजिक संजाल फेसबुकमार्फत जोडिएका थिए ।

उनीहरु दैनिकजसो कुराकानी गर्थे । र पछि उनीहरुको मित्रता प्रेममा परिणत भएको थियो । केही दिनअघि कार्की थापालाई लिन नेपालगञ्जसम्म गएको उनकी श्रीमतीको भनाइ छ । श्रीमान यसरी नेपाल आएको भन्ने जानकारी पाएपछि उनकी श्रीमती २ वर्षीय दुधे बच्चा बोकेर मुम्बई आएकी थिइन् ।

श्रीमती कमलाले बताए अनुसार पछि मुम्बईमा सक्रिय संघ संस्था र समाजसेवीको दबाबमा कार्कीले आफ्नी श्रीमती र फेसबुक प्रेमिका थापासँग २४ ओक्टोबरमा नेपाल गएर यस समस्यालाई आफ्नो समाज र नेपालको कुनुन बमोजिम समाधान गर्ने प्रतिबद्धता गरेका थिए ।

तर, कार्की ओक्टोबर २३ गते शुक्रबार बिहान श्रीमती कमलासँग डोम्बिवली पैसा ल्याउन जान्छु भन्दै घरबाट निस्केका थिए । केही समय पश्चात कार्कीकी प्रेमिका पनि तरकारी ल्याउन जान्छु भन्दै सबैलाई झुक्याएर एकाएक बेपत्ता भएका हुन् । उनीहरु वेपत्ता भएपछि अहिले कमला मुम्बईमा अलपत्र परेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *