कलाकारको दशैँः कोही पारिवारिक जमघटमा कोही कर्मथलोमै

कमल साउद
९ कार्तिक २०७७ २०:०७

काठमाडौं। नेपालीहरुको महान चाड दशैँ भित्रिइसकेको छ । दशैँ भन्ने बित्तिकै आम नागरिकको मनमा एकखालको उत्साह र उमंग आउँछ । दशैँलाई नयाँ लुगा लगाउने, मिठो खाने, पिङ खेल्ने, चंगा उडाउने, आफन्तजनसँग भेटघाट गरी मान्यजनबाट आशीर्वाद थाप्ने पर्वका रुपमा पनि हेरिन्छ ।

शताब्दीऔंदेखि दशैंलाई हामीले यही रुपमा मनाउँदै आएका छौं र चलिआएको परम्परालाई हामीले त्यही रुपमा निरन्तरता दिन चाहन्छौं । यसअघिका वर्षहरुमा दशैँ आउनु अगावै घर आँगनमा एकखालको रौनक हुन्थ्यो । तर, यसवर्ष टिकाको दिन आउन १ दिन बाँकी हुँदा पनि आम नेपालीहरुमा उत्साह छैन । कोरोना भाइरसको जोखिमले गर्दा मानिसहरुले राम्रोसँग हिँडडुलसमेत गर्न नपाएको अवस्था छ । सरकारले समेत जहाँ छौं त्यहीँ बसेर सुरक्षित रुपमा दशैँ मनाउन आग्रह गरिरहेको छ ।

महामारीले दशैं खल्लो बनाएको छ, यद्यपि हामी नेपालीहरु कमीका बीचमा पनि खुसी खोज्दै दशैं मनाउन तल्लीन छौं । दशैं कठिन अवस्थामा छ । ठूलो भेटघाट हुने उत्सवमा भेटघाटमै ‘प्रतिबन्ध’ लगाउनुपर्ने अवस्था आइलागेको छ । स्वास्थ्य सुरक्षाको लागि संस्कृतिलाई नै औपचारिकतामा सीमित गर्नुपरेको अहिलेको अवस्थामा कलाकारहरु पनि बाहिर निस्किएका छैनन् ।

कतिपय कलाकारहरु कोरोना भाइरसको जोखिम हेरेर पुर्ख्यौली घरसमेत गएका छैनन् । महामारीका बीचमा कलाकारहरुले दशैंलाई कसरी मनाउँदैछन् त ? यस्तो छ यसवर्ष कलाकारहरुको दशैँः

करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर यो वर्षको दशैँ घरभित्र भएका सदस्यहरुसँग मात्रै मनाउँदैछिन् । एक अर्कासँग नभेटी नहुने मानिसहरुसँग यसवर्षको दशैँ मनाउँदै गरेको उनी बताउँछिन् । तर, यो दशैं अरु वर्षजस्तो रमाइलो नभएको उनको भनाई छ ।

अहिले वाकिङ जाने, आँगनमा फूल रोपेर उनका दिन बित्दैछन् । उनले घर भित्रसमेत सामाजिक दूरी कायम गरेकी छिन् । आम नेपालीलाई उनले घरघरमै दशैँ मनाउन आग्रह गर्दै आफन्तहरुसँग यो वर्ष फोनबाटै शुभकामना आदान प्रदान गरेर मनबाटै दशैँ मनाउन सुझाएकी छिन् ।

रमेश उप्रेती

अभिनेता रमेश उप्रेती पनि यस वर्षको दशैँ आफ्नै परिवार भित्र मनाउँदैछन् । गएका वर्षहरुजस्तो उत्साह उनीमा छैन । कोभिडका कारण दशैँसँगसँगै कोभिडलाई पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।

गएका वर्षहरुजस्तो हर्षोल्लासका साथ दशैँ मनाउने अवस्था नभएको भन्दै सबैले सचेत रहेर दशैँ मनाउनुपर्ने उनले बताए । उनी भन्छन्, ‘हामी रह्यौं भने दशैँ फेरि पनि आउँछ । त्यसैले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर दशैँ मनाऔँ ।’

स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्का दशैँ आउने बित्तिकै छुट्टै अनुभूति हुने बताउँछिन् । आफूले मनाउन पाएपनि या नपाएपनि दशैँमा छुट्टै माहोल हुने उनको भनाइ छ ।

उनको नजरमा दशैँ एक महत्वपूर्ण चाड हो । दशैँमा स्वस्तिमालाई एकदमै मनपर्ने यतिबेलाको मौसम हो । उनी पनि यो वर्ष आफ्नो परिवार भित्रै दशैँ मनाउँदैछिन् । अघिल्ला वर्षहरुमा हुने पारिवारिक जमघट यो वर्ष नहुने उनको भनाई छ ।

मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेल यस वर्षको दशैँ सामान्य हुने बताउँछन् । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि यसवर्ष दशैँमा केही विशेष नभएको उनको भनाई छ । उनी परिवारका मान्यजनबाट आशीर्वाद लिएर यसपालीको दशैँ घरमै मनाउँदै छन् ।

बर्षा राउत

अभिनेत्री वर्षा राउतको जुठो परेकोले यो वर्ष उनको दशैँ छैन । तर, उनले दशैँ हुनेहरुका लागि सन्देश छोडेकी छिन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै उनले आम नेपालीलाई सुरक्षित रहेर आफ्नो परिवारमै दशैँ मनाउन आग्रह गरेकी छिन् ।

कमल गाउँले

हाँस्य कलाकार कमल गाउँले अहिले गाउँमा छन् । उनी केही समयदेखि गाउँमै बसिरहेका छन् । उनले पनि परिवारका सदस्यहरुसँग दशैँ मनाउँदैछन् ।

तर, आम नेपालीसँग उनको गुनासो छ । कोरोना भाइरसले आक्रामक रुप लिइरहेको बेला नेपालीहरुले लापरवाही गरिरहेको भन्दै उनले गुनासो पोखेका छन् । दशैँ हरेक वर्ष आउने चाड हो भन्दै उनले यस वर्ष सतर्कतापूर्वक दशैँ मनाउन आग्रह गरेका छन् ।

विल्सन विक्रम राई

हास्य कलाकार विल्सन विक्रम राईको दशैँ पनि यसपाली सामान्य छ । आफ्नै घरपरिवार भित्र मात्रै दशैँ मनाउने योजनामा छन् उनी पनि ।

उनी अघिल्लो वर्षहरुको दशैँ सम्झिँदै भन्छन्, ‘गएको वर्षहरुमा दशैँ भन्ने बित्तिकै अर्कै उत्साह हुन्थ्यो । साथीभाइहरुसँग पिकनिक खान गइन्थ्यो । चंगा उडाइन्थ्यो, सपिङ गरिन्थ्यो । तर, यस वर्ष त्यस्तो केही पनि छैन ।’ अरुलाई पनि घरमै बसेर दशैँ मनाउन उनले आग्रह गरेका छन् ।

उमेश राई

हास्य कलाकार उमेश राई यस वर्षको दशैँ कर्मथलो काठमाडौंमै मनाउँदैछन् । उनी एक सातादेखि अस्वस्थ पनि छन् । उनलाई यो वर्ष दशैँ भन्दा पनि स्वास्थ्यको चिन्ता छ । यो वर्ष घरघरमै बसेर दशैँ मनाउन उपयुक्त हुने उमेशको भनाई छ ।

उनी भन्छन्, ‘यो वर्ष कोरोना भाइरसको उच्च जोखिम छ । दिनदिनै संक्रमितको संख्या बढ्दैछ । यस्तै जोखिम देखेर म पनि घर गएको छैन ।’ उनी अगाडि थप्छन्, ‘सबैजना यो दशैँमा घरघरमै बसेर मनाउँ । स्वस्थ रहे अर्को वर्ष रमाइलो गरौंला ।

रचना रिमाल

पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल दशैँ मनाउन गाउँमा छिन् । केही दिनअघिमात्रै उनी परिवारसँग दशैँ मनाउन कर्मथलो छोडेर घर गएकी हुन् । गएको वर्षहरुमा दशैँमा सपिङ गरिमाग्ने रचनाले यसवर्ष परिवारका सदस्यहरुका लागि सपिङ गरेकी छिन् । उनी पनि परिवारका सदस्यहरुका बीच दशैँ मनाउँदैछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *