२ दिन पनि टिकेन अमेरिकाले गराएको सम्झौता, अजरबैजान–अर्मेनियाबीच फेरि युद्ध सुरु

डिसी नेपाल
११ कार्तिक २०७७ ११:५५

काठमाडौं। अमेरिकाको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच आइतबार भएको युद्धविराम सम्झौता तोडिएको छ । अर्मेनिया र अजरबैजान दुवैले सोमबार एक अर्कामाथि सिजफायर उल्लंघन गरेको आरोप लगाएका छन् । नागोर्नो काराबाख क्षेत्रका लागि यी दुई देश करिब १ महिनादेखि युद्ध गरिरहेका छन् । यो पछिल्लो २ हप्तामा भएको तेस्रो सम्झौता थियो । यसअघि रुसको मध्यस्थतामा २ सम्झौता भएका थिए तर ती दुवै सम्झौता पनि युद्ध रोक्न विफल भएका थिए ।

बीबीसीको रिपोर्टअनुसार अमेरिकी मध्यस्थतामा सम्झौता भएको केही घण्टामै अजरबैजानको रक्षा मन्त्रालयले एक बयान जारी गर्दै अर्मेनियाको सेनाले तेर्तार र लाचिन क्षेत्रमा गोलीबारी गरेको आरोप लगाएको थियो । अर्मेनियाको रक्षा मनत्रालयले यसको खण्डन गर्दै अजरबैजानको सेनाले अर्मेनियाको सैन्य अड्डामा मिसाइल आक्रमण गरेको आरोप लगायो । अर्मेनियाको रक्षा मन्त्रालयले एक बयान जारी गर्दै अजरबैजानले स्थानीय समयअनुसार बिहान ९ बजेर १० मिनेटमा सिजफायरको उल्लंघन गरेको बतायो ।

नागोर्नो काराबाख आधिकारिक रुपमा अजरबैजानको क्षेत्रभित्र पर्छ तर त्यहाँ अर्मेनियाले कब्जा गरिरहेको छ । यो क्षेत्रमा अर्मेनियाली धेरै छन् । अर्मेनिया र अजरबैजानबीच २७ सेप्टेम्बरमा संघर्ष सुरु भएको थियो । विश्वका शक्तिशाली देशहरुले यो संघर्षलाई ठूलो युद्धमा परिणत हुन नदिने निरन्तर प्रयास गरिरहेका छन् । टर्कीले अजरबैजानलाई खुला रुपमा समर्थन गरिरहेको छ । अर्मेनियासँग रुसको सुरक्षा सम्झौता छ । यो संघर्षका कारण टर्की र उसका नाटो सहयोगीहरुबीच पनि मतभेद सुरु भएको छ ।

आइतबार वाशिङटनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको मध्यस्थतामा अजरबैजान र अर्मेनियाका विदेश मन्त्रीहरुको वार्तामा सीजफायरको सहमति बनेको थियो । यो संघर्ष सुल्झाउन गठन गरिएको मिन्स्क समूहका प्रतिनिधिहरु पनि यो वार्तामा सहभागी थिए । यो संगठनको नेतृत्व फ्रान्स, रुस र अमेरिकाले गरिरहेका छन् । संगठनले २९ अक्टोबरमा उसका उपाध्यक्ष र विदेश मन्त्रीहरुले जेनेभामा फेरि वार्ता गर्ने बताएको छ ।

आइतबार भएको वार्ताका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका थिए ‘अर्मेनियाली प्रधानमन्त्री निकोलस पसिनान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभलाई बधाइ जो आधा रातमा संघर्ष विरामको पालना गर्नको लागि सहमत भए । यसबाट कैयौं मानिसहरुको ज्यान बचाउन सकिनेछ ।’ यो संघर्षमा नागोर्नो काराबाखका ९७४ सैनिक मारिएका छन् । अजरबैजानका ६५ नागरिकको पनि मृत्यु भएको छ । अजरबैजानले आफ्ना कति सैनिक मारिए भन्नेबारे कुनै जानकारी दिएको छैन ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यो संघर्षमा ५ हजार मानिस मारिएको आशंका भएको बताएका थिए । अर्मेनियाका प्रधानमन्त्री निकोलस पसिनानले फेसबुक पेजमा अर्मेनियाको तर्फबाट सिजफायरको पालना भइरहेको लेखेका छन् । नागोर्नो काराबाख क्षेत्रका लागि १९९१ देखि १९९४ सम्म पनि भीषण युद्ध भएको थियो । त्यतिबेला ३० हजारले ज्यान गुमाएका थिए । अर्मेनिया यो क्षेत्रमा आफ्नो दावी गर्छ भने अजरबैजानले अर्मेनियाले आफ्नो भूमि अवैध तरिकाले कब्जा गरेको आरोप लगाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *