कोरोना, कात्तिक र दशैंसँगै हुँदा किसानले भने, ‘सोचे झैँ जिन्दगी रैनछ’

डिसी नेपाल
१४ कार्तिक २०७७ ७:२६
328
Shares

काठमाडाैं। तीजमा एउटा गीतले सबैको मनमा बास गरेको थियो। ‘सोचे झैं जिन्दगी रैनछ’। वास्तवमै सोचे झैं जिन्दगी कसको पो हुँदो हो। दशैं आएपछि खुबै रौनक हुने गाउँघर यसपाली भने सुनसान छन्। आकाशमा चंगा उडेको देखिएन। पटका पड्केको सुनिएन। न त कतै पिङ नै देखियो।

‘निधारभरी रातो टीका, कानमा जमरा लगाएर बाबियोले बनाएको पिङमा मच्चिँदा हावाले जमरा उडाउने दिन कता गए होलान?’ काठमाडौंदेखि दशैं मनाउन दैलेख पुगेकी राजकला थापाले सुनाइन्, ‘जमरा लगाउन सजिलो हुन्छ भनेर एक दिनलाई भए पनि ढाँकाको टोपी लगाउने साइँलाको टाउकोमा टोपी देखिएन। पहिले पहिले साइँलाको टोपी उडाएपछि मात्र हामीले पिङ खेल्न पाउँथ्यौं। यो वर्ष त पिङ भन्ने कस्तो हुन्छ झै लाग्यो।’

‘दशैं आएपछि सानादेखि ठूलासम्म सबैमा रौनक हुथ्यो। कमेरो र रातोमाटोले घर पोतेपछि सेतो भित्तामा रोतोमाटोको अक्षरले आफ्नो नाम लेखेको पनि यो वर्ष देखिएन। न त हातमा टिका जमराको थाली बोकेर त कोही कोशेलीमात्र बोकेर आफूभन्दा ठूलो मान्छेको हातबाट टिका र आर्शीवाद लगाउने आउने पूर्णिमासम्म हिँडेको देखिन्थ्यो। बाटा भरी आँखा डुलाउँदा पनि कोही देखिँदैनन्,’ राजकला सँगै बसेकी उनकी भाउजू सुनाइन्।

नुवाकोटकी १० वर्षीया रविना राईको पनि यसपालिको दशैं त्यति राम्रो भएको छैन। प्रायः दशैं भनेपछि असोजमा हुने गथ्र्यौं। यो वर्ष असोजमा पनि दशैं परेन र कोरोनाका कहर पनि कम नभएको अवस्थामा दशैं भयो। ‘ममीले मंसिर लगाउने बेला पनि के को दशैं भन्नुभयो,’ धानको पराल बोक्दै गरेकी रविनाले सुनाइन्, ‘मामाघर पनि जान पाइएन। यसपालिको दशैं त कस्तो खल्लो भयो भन्या।’

कात्तिक महिनामा दशैं परेकाले पनि यो वर्ष मान्छेको त्येतिधेरै चहलपहल हुन नसकेको हो। कात्तिकमा एक बाली भित्र्याउने र अर्को बाली लगाउने बेला हुनेगर्छ। धान काटेर घर भित्र्याउँदै गहुँ छर्ने बेला हो कात्तिकको महिना।

‘अघिल्लो वर्ष असोजमा दशैं परेकाले रमाइलो भएको थियो।’ तरकारी खेतीको लागि पाखुरीले कोदाली बझार्दै गरेकी रवीना ओझाले भनिन्, ‘यो वर्ष त कोरोना भन्नेले पनि बितायो। कोरोना भन्ने नभएको भए त सायद मान्छेले आफूले गर्ने काम सकेर भए पनि दशैंको बेलामा रमाइलो गर्न भने छोड्थेनन्।’

‘कोरोनाले जागिरको भर गरेर शहरमा बस्ने धेरैलाई घर पठाएको छ,’ दैलेखका किसान शेरबहादुर शाहीले भने, ‘खेतीबारी बाँझै भएका ठाउँमा घर फर्केकाहरुले खेती लगाउनु पर्छ भन्ने सोचेका छन्। केहीले असारबाट नै बाँझो जमिनमा खेती गरे। कतिपय अहिले आएर गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन्।’

मानव स्वास्थ्यमा समस्या गरे पनि कोरोनाले मान्छेलाई शहरी मोहबाट भने टाढा राखेको शाहीको बुझाइ छ। ‘गाउँमा मान्छेलाई खेतीपाति भित्र्याउन र लगाउन मै ध्यान छ,’ शाहीले थपे, ‘कोरोनाको त कसैले पनि डर मानेकै छैनन्। गाउँघरमा बस्ती पातलो हुने भएकाले पनि होला सायद धेरैमा संक्रमण फैलिएको पनि छैन।’

नुवाकोटका सुरेश वस्ती नेपाली सेनामा कार्यरत छन। दशैं विदा भयो उनी घर गए। दशैंमा घर गए पनि दशैं भन्दा बढी घरकै काममा व्यस्त छन् उनी। ‘घरमा आएको १५ दिन भयो,’ सुरेशले भने, ‘एकदिन पनि अन्त समय दिन पाएको छैन। धान काट्ने, मेसिन लगाउने, तरकारी खेती लगाउने जस्ता कामहरु गरेर सकियो। अब चाडैँ अफिस हाजिर हुनु छ। म त सधैं यस्तै समयमा दशैं भएको भए खुसी हुने थिएँ होला। दशैं पनि मनाउन पाइने घरमा काम सघाउन पनि पाइने।’

मानु रोपेर मुरी फलाउने किसानहरु कोरोना र दशैं भन्दा धेरै महत्वपूर्ण कात्तिकको काम भएको अनुभव सुनाउँछन्। ‘रोगले भन्दा भोकले मरिने अवस्था आउन थालेको छ,’ धान काट्नै छोडेर प्रकाश राईले भने, ‘हामी खेतीपाति गरेर खानेलाई के को कोरोना, के दशैं। अहिले गरेनौं भने भोलि न दशैंले दिने हो, न त कोरोनाले नै। त्यसैले पनि ती कुराहरुलाई भूलेर खेतीपातीको काम गरिरहेका छौं।’

विश्वका करिव सवा २ सय देशलाई प्रभावित पारेको कोरोनाका कारण हालसम्म साढे ४ करोड संक्रमित भएका छन्। नेपालमा पनि यसको प्रभाव बढ्दै गएकाले सरकारले दशैं पहिलाको झैं गरी नमनाउन आग्रह समेत गरेको थियो। सरकारको आग्रह र कात्तिकको काम सँगै परेको कारण पनि यो वर्षको दशैंमा सोचेझै कसैको पनि भएन्। अनि फेरि पनि उही तीजको गीतले दशैंसम्म काम गरेको छ, ‘सोचेँ झैं जिन्दगी रैनछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *