माधव नेपाललाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने : मिर्गौला प्रत्यारोपणपछि जुँगा कालो हुन थाल्यो

डिसी नेपाल
२३ कार्तिक २०७७ १७:३८
1.3k
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किरहेको विवादका बीच नेताहरुबीच छलफल र भेटघाट बाक्लिएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोधी समूहका रहेका माधवकुमार नेपालसहितका ४ जना नेतालाई उनले आइतबार बालुवाटारमा छलफलका लागि बोलाए।

अध्यक्ष तथा प्रधानमन्त्रीले बोलाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगे। बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे कुरा सुनाउँदै छलफल शुरु गरेको नेता पाण्डेले जानकारी दिए।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि आफू निकै स्वास्थ रहेको बताएका थिए। पाण्डेका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘मिर्गौला प्रत्यारोपणपछि मलाई ज्वरो पनि आएको छैन, खोकी पनि लागेको छैन फुलेको जुँगा कालो हुन थालेको छ।’ प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको सन्देश दिन यो कुरा उठाएको हुन सक्ने विश्लेषण गरिएको छ।

स्वास्थ्यको विषयबाट कुरा शुरु भए पनि चुरो कुरा त पार्टीको विवाद नै थियो। पार्टीको विवादबारे आफूलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई आग्रह गरेका छन्। नेता पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुने खतरा बढेको भन्दै पार्टीलाई एकढिक्का बनाउन सहयोग गर्न आग्रह गरेका थिए। पाण्डेले भने, ‘उहाँले पार्टी एकतालाई बलियो बनाउने कुरा गर्नु भयो, हामीले त्यसका लागि तपाईँले नै भूमिका खेल्नुपर्छ, बैठक बोलाउनुहोस भन्यौं। र त्यसका लागि प्रस्ताव के छ भनेर सोध्यौं।’

प्रधानमन्त्री ओलीले बैठक बोलाउने विषयमा कुनै ठोस जवाफ नदिएको उनले बताए। उनले भने, ‘लामो छलफल भयो तर, उहाँबाट बैठक र प्रस्तावबारे केही कुरा आएन।’

नेकपामा विवाद चर्किँदै विभाजनसम्म हुने जोखिम बढेपछि प्रधानमन्त्री ओलीले आफू इतर समूहमा रहेका नेताहरुलाई आफ्नो पक्षमा पर्न सक्रियता देखाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार पूर्व एमालेका नेताहरुलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *