नेपाल-भारत सम्बन्धमा सुधारकाे संकेत, भारतीय विदेश सचिवको भ्रमणपछि विदेश मन्त्री नेपाल आउने

मदन कोइराला
२५ कार्तिक २०७७ ७:३६

काठमाडौं। भारतीय विदेश सचिव हर्षबर्धन श्रंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय विदेश सचिव नोभेम्बर अन्तिममा नेपाल भ्रमणमा आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भारतीय विदेश सचिवको भ्रमणपछि परराष्ट्रमन्त्रीस्तरमा छलफल हुने बताइएको छ। ‘भारतीय विदेश सचिव नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने भएपनि मिति तय भइसकेको छैन,’ परराष्ट्रमन्त्रालय स्रोतले भन्यो।

भारतीय सञ्चार माध्यमका अनुसार विदेश सचिव श्रंगला २६ नोभेम्बरमा काठमाडौं भ्रमण गर्ने छन्। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टचार भेट गर्ने छन् भने परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गर्ने छन्।

‘भारतीय विदेश सचिव नेपाल आउने तय भएपनि मिति तय भएको छैन, तर भारतीय मिडियाले मिति नै घोषणा गरिसकेका छन्,’ परराष्ट्र स्रोतले भन्यो, ‘यसबाट पनि भारत नेपालसँग सम्बन्ध सुधार गर्न तयार छ भन्ने देखिएको छ।’

विदेश सचिव श्रंगला २६ नोभेम्बरमा काठमाडौं भ्रमण गर्ने छन्। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टचार भेट गर्ने छन् भने  परराष्ट्रसचिव  भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गर्ने छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा आउने जानकारी दिए। ‘भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि विदेश मन्त्रीको पनि भ्रमण हुने संभावना छ,’ मन्त्री ज्ञवालीले डिसी नेपालसँग भने।

भारतीय उच्च सुरक्षा अधिकारीको काठमाडौं भ्रमणपछि विदेश सचिवस्तरीय भ्रमण हुन लागेको हो। हालै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस बिङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले काठमाडौं भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए भने त्यसपछि भारतीय स्थलसेना प्रमुख जर्नेल मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

नेपाली सेनाको मानार्थ महारथी पदवी ग्रहण गर्न नेपाल आएका जर्नेल नरवणेले काठमाडौंमा उच्चस्तरीय भेट पनि गरेका थिए। जर्नेल नरवणेको भ्रमणपछि विदेश सचिबको भ्रमण हुने चर्चा त्यतिबेला नै थियो।

भारतले गत वर्ष नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नक्सा प्रकाशित गरेपछि शुरु भएको विवाद नेपालले पनि गत वैशाखमा नयाँ नक्सा संसदबाट अनुमोदन गर्दै ती नेपाली भूमिहरु नेपालको नक्सामा समेटेपछि उत्कर्षमा पुगेको थियो।

गत वैशाख यता नेपाल–भारत कूटनीतिक तहमा वार्ता ठप्प रहेको थियो। नेपालले सीमा विवादका विषयमा पटक पटक भारतसँग वार्ताका लागि पहल गरे पनि भारतले चासो दिएको थिएन।

तर, पछिल्लो समय दुई देश आपसी सम्बन्ध सुधारका लागि सक्रिय भएको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १५ अगस्टमा भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोन वार्ता गरेका थिए। त्यसपछि नेपाल र भारतबीच वार्ताको वातावरण बनाउन पहल भइरहेको थियो।

रअ प्रमुखको नेपाल भ्रमणपछि आपसी विश्वासको वातातरण बन्दै गएको देखिएको छ। दुई सुरक्षा अधिकारीहरुको नेपाल भ्रमणका क्रममा भएका भेटमा प्रधानमन्त्री ओलीले नेपाल वार्ताकै माध्यमबाट भारतसँगका सीमा समस्या समाधान गर्न तत्पर रहेको र सम्बन्धलाई नयाँ उँचाईमा लैजान चाहेको सन्देश दिएका थिए।

भारतीय पक्षले पनि शुरुमा यो विषयमा कडा रवैया देखाए पनि पछिल्ला दिनहरुमा भने वार्तालाई र नेपाललाई महत्व दिएको लगातारको नेपाल भ्रमणले देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *