गोदावरी सडक पुससम्म सम्पन्न गरिने

डिसी नेपाल
२९ कार्तिक २०७७ १५:०१
60
Shares

ललितपुर । ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ। निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र दुवैको अवधि आगामी पुससम्म मात्रै भएको आयोजना प्रमुख गुरु अधिकारीले बताए। उनका अनुसार, सरकारले २० मिटर चौडाइ कायम गर्ने गरी निर्माण शुरु गरे पनि स्थानीयवासीको विरोधका कारण लामो समयसम्म काम हुन सकेको थिएन । गत पुसमा मन्त्रिपरिषद्को बैठकले विस्तारित सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेपछि सोही अनुसार काम भइरहेको छ । उनले भने, “२० मिटर चौडाइ हुनुपर्ने भए पनि अधिकांश स्थानमा त्योभन्दा कम चौडाइमा काम भइरहेको छ ।”

निर्माण शुरु भएको लामो समय भएको र पटकपटक अवधि थप भए पनि कानूनी रुपमा पुनः अवधि थप्न मिल्दैन । मापदण्डभन्दा कम चौडाइमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइएको छ । उनले भने, “कतै साढे तीन मिटर चौडाइ कायम भए पनि हामीले समयमै ठेक्का सम्पन्न गर्न लागेका छौँ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको काम आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभीले गरिरहेको छ । यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । उपलब्ध चौडाइमै कालोपत्र गर्ने सरकारको निर्णयपछि भने अहिले अधिकांश सडकमा निर्माण अघि बढेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *