प्रचण्डको राजनीतिक प्रस्तावमाथि ओली निकटहरुको धुवाँधार विरोध
फाइल तस्वीर
काठमाडौं। सत्तारुढ दल नेकपाको शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै पेश गरेको राजनीतिक पस्तावमाथि ओली निकटहरुले धुवाँधार विरोध गरेका छन्।
यसरी विरोध गर्नेहरुमा सचिवलाय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलदेखि ७० करोड घुस मोलमोलाई अडियो प्रकरणमा सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएक गोकुल बाँस्कोटासम्म छन्।
शनिबार बिहानै लुम्बिनीका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डको प्रस्तावविरुद्ध पहिलो फायर खोलेका थिए भने त्यसपछि गोकुल बाँस्कोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सो प्रस्तावको विरोध गरेका थिए। सामाजिक सञ्जालमा प्रचण्डको प्रस्तावविरुद्ध लगातार पोस्टहरु आइरहेका छन्।
त्यसपछि शनिबार अपराह्न उपप्रधानमन्त्री पोखरेलले सो प्रस्तावको विरोध गरेका हुन्। सबै नेताहरुले प्रचण्डको सो प्रस्ताव फिर्ता हुनुपर्ने बताएका छन्।
उपप्रधानमन्त्री पोखरेलले सामाजिकमा लेखेका छन्, ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ। ‘प्रस्ताव’ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन्। सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती ‘प्रस्तावहरू’। दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ।’
प्रेस सल्लाहाकार थापाले प्रचण्डको प्रस्तावलाई अराजनीतिक प्रस्ताव भनेका थिए भने मुख्यमन्त्री पोखरेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।







डिसी नेपाल







Facebook Comment