सर्टिफिकेटको तौल

डिसी नेपाल
६ मंसिर २०७७ ७:४६
116
Shares

उमेर बितिसक्दा पनि
अझै टुङ्गो छैन, कुन कामले
सजिलो सङ्ग पेटमा माम पर्न सक्छ

बर्षौ लगाएर जम्मा गरेको सर्टिफिकेट
जुन किलोको हिसाबमा बेच्नुपर्यो भने
मात्र सात रुपैयाँ पर्छ,
बाले सिलाएको कालो झोलामा
भारी पुर्याएर बोकेको छु

कतै हिँड्दा बाले र मैले
पालैपालो लगाउने
कालो जुत्ता लगाएर, कालो बादलमुनी
उज्यालो भबिष्य खोज्दैछु

अन्तर्वार्तामा वार्ता मिलिसक्दा पनि
पुरानो भुवादार सुकिलो कमिज देखेर
पछि खवर गर्छौ भन्नेले
कहिले खबर गरेनन

धेरै पल्ट ख’वर’ ख -पर भैसक्दा
लागेको हो
खाडीमा रगत बेचेरै भएपनि
आमालाइ साडी किनिदिउँ
तर
बा को कोटको खल्तिमा
पासपोर्ट बेचेर
भिसा किन्ने सम्म पैसा नहुँदा
आटिलो, जोसिलो बैँस
सुस्ताइरहेछ।

जीवन अमिलो भैसक्दापनि
कसैको जिब्रोमा स्वाद दिँदा लाग्छ,
सबै मुलाको भाग्यमा
गुन्द्रुक नहुने रहेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *