धनगढी प्रहरी हत्या प्रकरणः मुख्य अभियुक्त अझै फरार

डिसी नेपाल
१६ मंसिर २०७७ ११:५१

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गर्ने मुख्य अभियुक्त अझै फरार  छन्। गस्तीमा गएका वेला मटर (केराउ) तस्कर समूहले गत १ कात्तिकमा उनीहरुको हत्या गरेको थियो।

सो हत्यामा संलग्न सुकलाल भन्ने अमर रानामगर अझै फरार  छन्। मटर तस्कर भइरहेका बेला रोक्न खोजेपछि तस्कर समूहले दुबै जनाको हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए।

प्रहरी सहायक निरीक्षक विकको शव घटना भएको भोलिपल्ट बिहान र जवान साउदको शव त्यसको दुई दिनपछि मोहना नदीमा फेला परेको थियो। प्रहरीले सहकर्मीहरुको हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको भएपनि फेला पार्न सकेको छैन।

सो हत्या प्रकरणमा प्रहरी हत्या घटनामा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। त्यसमध्ये नौ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाको मुख्य नाइके भनिएका धनगढी उपमहानगरपालिका–१० का ३५ वर्षीय सुकलाल भनिने अमर राना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले खोजी तीब्र पारे पनि पक्राउ गर्न सकेको छैन।

धनगढी– १० कै पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, ३० वर्षका चोर भनिने सुरेश राना, २५ वर्षका गब्बर भनिने राजकुमार राना, २२ वर्षका रामनिवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना, २५ वर्षका गोपाल भनिने रामगोपाल राना र २० वर्षीय रोहित रानालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको भए पनि उनी भने फरार रहेका छन्।

मटर तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले बयान दिएका प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ। अभियुक्तको बयानका आधारमा तस्करीको मोटरका कारोबारी व्यापारी राजीव गुप्तालाई प्रहरीले गत १८ कात्तिकमा पक्राउ गरेको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरी हत्यापछि त्यही राति ५० बोरा मटर तस्करले भारत पु-याएका थिए ।

प्रहरीले सुरुदेखि नै खोजी गरिरहेका सुकलाल भने घटना भएकै रातिदेखि भागेका थिए। उनी लुकेको स्थानबारे सुइँको पाएपछि प्रहरीले थुप्रै स्थानमा छापा मारेको थियो । तर, उनी अहिलेसम्म उम्किन सफल भएका छन्। उनी भारतमा लुकेर बसेको प्रहरी जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार सुकलालको खोजी कार्य भैरहेको र भारतीय सुरक्षा अधिकारीसँग कुराकानी भैरहेको छ। ‘उनी भारतमा लुकेर बसेको छन भने पनि हामी खोजेर ल्याउछौ हत्यरालाई त्यसै छाड्न सकिदैन निकट भविष्यमै पक्राउ पर्छन’, डिएसपी विष्टले भने ।

सुकलाल लामो समयदेखि मटर तस्करीमा संलग्न रहेका थिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी हत्या घटनामा १० जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमार्फत कैलाली जिल्ला अदालतमा पेस गरिसकेको छ।

ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएर गत २८ कात्तिकमा अदालतमा फाइल पेस भए पनि अभियुक्तहरु मध्ये केहीलाई कोरोना संक्रमण देखिएकाले उनीहरुको थुनछेक बहसमा ढिलाई भैरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *