नेकपा फुट्दैन, शीर्ष नेताले नसके नेतृत्व गर्न दोस्रो पुस्ता तयार छ

डिसी नेपाल
१८ मंसिर २०७७ १४:११

जनताले एकदमै विश्वास गरेर झण्डै दुई तिहाइ बहुमतसहित सत्तामा पुर्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेको र विभाजनउन्मुख भएको समाचार पत्रपत्रिकाको हेडलाइन बन्ने गरेका छन्।

देशमा भएका यावत समस्याका विषयमा भन्दा पनि सत्तारुढ दलभित्रको किचलोले दैनिक पत्रपत्रिकाको मुख्य स्थान लिनु दुर्भाग्यपूर्ण हो। र, यो अवस्था आउनमा नेकपाका शीर्ष नेताहरु नै जिम्मेवार छन्।

अहिले नेकपाभित्रको विवाद कुनै सैद्धान्तिक विवाद नभएर शीर्ष नेताहरुबीच मन र भावना नमिल्दको परिणाम हो। यसअघि पूर्व एमालेले अपनाएको जवज र पूर्व माओवादीले अपनाएको जनताको जनवादका विषयमा विवाद भएको होइन। अहिलेका विवाद नेता नेताबीचको द्वन्द्वको परिणाम पनि हो। तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा तल्लो तहको कार्यकर्ताको मन मिलेर नभइ शीर्ष नेताबीच मन मिलेर पार्टी एकीकरण हो।

अहिले पार्टीभित्रको विवाद तल्लो तहको कार्यकर्ताबीच भएको होइन, यो शीर्ष तहमा नै भएको हो। त्यस कारण अहिले नेकपाभित्रको विवाद सैद्धान्तिक विवाद होइन, यो शीर्ष नेताहरुबीच मन र भावना नमिल्दाको परिणाम हो।

कार्यकर्ता तहसम्म विवाद भएको भए त्यसलाई जटिल मान्न सकिन्थ्यो, अहिले शीर्ष नेताहरु आपसमा बसेर खुला हृदयले छलफल गर्ने हो भने विवाद समाधान भइहाल्छ, त्यसकारण यसलाई ठूलो विवादका रुपमा लिनु हुँदैन।

शीर्ष नेताले एकअर्कालाई आरोप प्रत्यारोप गरेर आफू बलियो हुन्छु भन्ने सोच त्याग्न जरुरी छ। हिजो शीर्ष नेताहरु मिल्दा दुई पार्टीबीच एकता भयो भने आज शीर्ष नेता मिल्दा पार्टीभित्रको सामान्य विवाद पनि मिल्छ, अहिले नेकपामा फुटको होइन, जुटको आवश्यकता छ। यो आवश्यकता देश र जनताको पनि आवश्यकता हो।

संचारमाध्यममा पार्टी फुटको संघारमा पुग्यो भनेर समाचार आइरहँदा पनि कार्यकर्ता भने पार्टी विभाजन गर्नु हुन्न भनेर नेताहरुलाई खबरदारी गरिरहेका छन्, यो नेकपाको पूँजी हो।

दुई पार्टीबीचको एकताले पूर्णतासम्म नपाएको अहिलेको अवस्थामा कार्यकर्तामा एकताको पक्षमा यस्तो प्रतिवद्धतालाई नेतृत्वले बेलैमा बुझ्नुपर्छ र पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ।

लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिएको मुलुकमा जनताले लामोसमय पछि स्थीर सरकार पाएका छन्। जनताबाट निर्वाचित बहुमतको सरकार पाँच वर्षसम्म टिक्न नसकेको नेपालको इतिहासमा यो सरकारलाई पाँच वर्षसम्म टिकाउनु पार्टी र जनताको हितमा हुन्छ।

त्यसैले नेताहरुले जनताको इच्छा र आकांक्षालाई पक्कै पनि बुझ्नु भएको होला। नेपालमा स्थिरता नहोस भन्ने कसैको पनि चाहनालाई नेताहरुले परास्त गर्नुहुन्छ भन्ने आम कार्यकर्ताले विश्वास लिएका छन्।

शीर्ष नेताले एकअर्कालाई आरोप प्रत्यारोप गरेर आफू बलियो हुन्छु भन्ने सोच त्याग्न जरुरी छ। हिजो शीर्ष नेताहरु मिल्दा दुई पार्टीबीच एकता भयो भने आज शीर्ष नेता मिल्दा पार्टीभित्रको सामान्य विवाद पनि मिल्छ, अहिले नेकपामा फुटको होइन, जुटको आवश्यकता छ। यो आवश्यकता देश र जनताको पनि आवश्यकता हो।

पार्टीको नेतृत्वलाई नंग्याएर वा आरो लगाएर भन्दा पनि विश्वासमा लिएर काम गर्नुपर्छ। जब पार्टीमा कुनै सैद्धान्तिक विवाद छैन भने अन्य विवाद त गौण विषय हो।

अहिले कतिपयलाई नेकपा फुट्छ कि भन्ने चिन्ता छ, तर अहिले नेकपा फुटाउन सक्ने अवस्थाका कोही पनि नेता हुनुहुन्छ जस्तो लाग्दैन। पार्टी फुटाउने नेताका पछि कार्यकर्ता लाग्दैनन्। किनभने पार्टी विभाजन हुनु भनेको जनता र कार्यकर्ताको अपमान पनि हो। जनताले एकीकृत पार्टी नेकपालाई पाँच वर्षसम्मको म्याण्डेट दिएका हुन्। यो पाँच वर्ष नेकपाले सरकार संचालन गर्न नसक्ने सन्देश दिन कुनै पनि नेता तयार हुनुहुन्न।

अहिले नेकपाभित्र रहनु भएका शीर्ष नेता ठूलो त्याग, वलिदानी र राजनीतिक संस्कार लिएर यहाँसम्म आउनु भएको छ। पार्टीमा तीन जना त पूर्वप्रधानमन्त्री हुनुहुन्छ। उहाँहरुको अनुभव र सुझावसहित नेतृत्वले काम गर्नुपर्छ।

अब अहिलेको नेतृत्वलाई स्वीकार गर्नै नसक्ने भन्ने हो भने त्यसको पनि विकल्प खुल्ला हुन्छ। कुनै पनि पार्टी वा व्यवस्था विकल्प विहीन हुँदैन। अहिलेको नेतृत्वले नसक्ने हो भने नेकपाभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नेतृत्व तयार हुनुपर्छ। नेकपाको नेतृत्व गर्न एक से एक नयाँ पुस्ता छन्।

अहिले कतिपयले नेकपाभित्र विदेशी चलखेल भयो भन्ने गरेको पनि सुनिन्छ। तर, विदेशीको इसारामा चल्ने नेकपाको नेतृत्व होइन। उहाँहरु सबै ठूलो त्याग, वलिदानी गरेर आएको नेतृत्व हुनुहुन्छ। पार्टीभित्रको अहिलेको निकासको समाधान भनेको नेतृत्वबीच सहमति नै हो।
मनमा रहेका कुण्ठा, ईष्र्या, द्वेषलाई हटाएर ठण्डा दिमागले सोचेर आफूभित्रका कमिकमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन।

नत्र अहिलेकै किचलो पार्टीभित्र रहिरहने हो भने दुई वर्षपछि हुने निर्वाचनमा जनताको बीचमा जाँदा जनताले सोधेको प्रश्नको जवाफ हामीसँग हुँदैन। जनताको अपार समर्थनलाई हामीले सदुपयोग गर्न सकेनौं भने हामीलाई फेरि जनता समक्ष भोट माग्न जाने नैतिक आधारसमेत हुँदैन।

त्यसकारण प्रचण्ड बहुमतसहितको नेकपाको सरकारलाई सफल बनाएर फेरि अर्को चुनावमा पनि जनताको मत र विश्वास जित्ने गरी काम गर्नु सरकार र पार्टीको कर्तव्य हो। विनासको बाटो नरोजौं, विकासको बाटोमा अगाडि बढौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *