ललिता निवास प्रकरण : गच्छदारलाई म्याद बुझ्न ताकेता
काठमाडौँ। ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ।
अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारले म्याद बुझ्नुभएको छैन। १० महिना पूरा भइसके पनि म्याद बुझाउन अदालत असफल भइरहेको छ । यसबीचमा अदालतले चाँडो म्याद बुझाउन ताकेता भने गरेको छ।
विशेष अदालतका रजिस्टार अशोक क्षेत्रीले गच्छदारको म्याद सम्बन्धित अदालतले बुझाएको जानकारी प्राप्त नभएको बताए। अदालतले म्याद बुझाउनका लागि जिल्ला अदालतल सुनसरीलाई ताकेता भने गरिरहेको क्षेत्रीको भनाइ छ । जिल्ला अदालतमार्फत विशेषले म्याद २०७६ फागुन १९ गते नै पठाएको थियो।
ललिता निवास प्रकरणमा आरोपित गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिब एक महिनापछि गच्छदारको म्याद स्थायी ठेगाना सुनसरी पठाइएको थियो । सुनसरी दुहवी नगरपालिका–२ स्थित उनको स्थायी ठेगानामा जिल्ला अदालत सुनसरीमार्फत म्याद पठाइएको हो । म्याद पठाएसँगै कोरोना कहर सुरु भएपछि अदालतका काम कारबाही केही समय बन्द भएका थिए ।
साउनयता क्रमशः अदालत खुल्दै गए पनि म्याद बुझाउन अदालत असमर्थ छ । फागुनको म्यादबारे कुनै जानकारी नआएपछि कात्तिक १८ गते विशेषले पुनः तोकेता गरेको छ। सोपछि पनि जिल्ला अदालतले म्याद तामेल गर्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment