बालअधिकार महासन्धिको ३१ वर्ष पुगेको अवसरमा दक्षिण एशियाली बाल सम्मेलन
काठमाडौं। बालअधिकार सम्बन्धी महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा मंगलबार बाल सहभागिता सम्मेलन आयोजना गरिएको छ। साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशियास्तरीय बालसहभागीता सम्वन्धी सम्मेलन आयोजना गरिएको हो।
उक्त कार्यक्रम साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले सञ्चालन गरेका थिए भने एनएसीजी नेपालका अध्यक्ष कृष्णचन्द्र आचार्यले स्वागत गर्दै नेपालसहित सार्क राष्ट्रमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका थिए। दक्षिण एशिया अन्तर्गत ५ वटा देशले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशका बालबालिकाहरुले आफ्नो प्रस्तुती दिएका थिए।
साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नु पर्ने बताइन्। कार्यक्रममा अफगानिस्तान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एनएसीजीका प्रतिनिधि, अधिकार अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए।
कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बाल सहभागिता बालबालिकाहरुको महत्वपूर्ण अधिकार भएकोले बाल सहभागिता प्रत्याभुतिका लागि आगामी दिनमा पनि अभियान आवश्यक भएको बताए। उनले बाल सहभागिता अरु अधिकार भन्दा उपेक्षा गरिएको मुद्दा भएकाले यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।
कार्यक्रममा विकास सझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रिका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए। कार्यक्रमको समापनका क्रममा साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने र बालअधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदानप्रदान गरिने प्रतिवद्धता व्यक्त गरे। बालअधिकार सम्वन्धी ५४ वटा धारा भएको उक्त महासन्धि नेपालले सन् १९९० माअनुमोदन गरेको थियो।







डिसी नेपाल








Facebook Comment