एकै पटक ५ कक्षामा भर्ना भएका श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

तर्कबहादुर थापा
१३ पुष २०७७ ७:३७

काठमाडौं। सत्तारुढदल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे। ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित भएपछि ७ जना मन्त्रिहरुले सामुहिक राजीनामा दिए।

उनीहरु संसद भंग हुँदासम्म मन्त्रिपरिषद्को बैठकमै थिए। संसद विगठन भएपछि असंवैधानिक भन्दै राजीनामा दिए। एकातिर प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सडकमा आन्दोलन भइरहेको छ भने अर्को तर्फ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन्।

मन्त्री हेरफेर गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी यस अघिका शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ। आइतबार पदभार ग्रहण गर्दै नवनियुक्त शिक्षा मन्त्री श्रेष्ठले आफूले १, २, ३ र ४ कक्षा नपढेको जानकारी दिए। उनले सिधै २०२५ सालमा ५ कक्षा भर्ना भएर ३० सालमा एसएलसी पास गरेको अनुभव सुनाए।

मन्त्री श्रेष्ठ भन्दै थिए, ‘यहाँ उपस्थित सबैलाई मेरो च्यालेन्ज छ। कोही पनि एकै पटक ५ कक्षा भर्ना भएर पढेको मान्छे हुनुहुन्न होला। तपाईँहरुले १,२,३ र ४ कक्षा पढ्नु भयो होला मैले त्यो पढ्न पाइनँ।’ सबै जना गलल हासेँ। हास्नु पछाडिको कारण उनी प्रतिको अविश्वास हो वा स्वभाविक हो भन्ने विषय समयक्रमअनुसार प्रमाणित हुँदै जाला।

तर, उनले शिक्षा नीतिमा परिवर्तन नआएसम्म देशको विकास नहुने बताए। विश्वका केही देशहरुको उदाहरण दिँदै श्रेष्ठले नेपालको शिक्षा नीतिमा पनि आमुल परिवर्तनको आवश्यक भएको बताए। जापानको शिक्षा नीतिको उदाहरण दिँदै मन्त्री श्रेष्ठले नेपालमा केही काम नपाएपछि शिक्षक बन्ने र उसले पनि पढाउनमा भन्दा धेरै अन्य कुरामा ध्यान दिने भएका कारण शिक्षा क्षेत्र फितलो भएको बताएका छन्।

‘मेरो कहानी त सुन्नु भयो। म जापानको उदाहरण दिन्छु। त्यहाँ धेरै जान्ने विद्यार्थीले शिक्षक हुने लक्ष लिन्छ। हाम्रोमा कतै जागिर पाइएन भने शिक्षक हुन्छ। त्यो पनि यसले केही काम पाएन शिक्षकको भएपनि जागिर मिलाई देउ त फलाना भन्दै हामी जस्तै मान्छेलाई गुहारिन्छ। कसरी यो देशको शैक्षिक गुणस्तर उकालो लाग्छ।’

उनले नेपालमा शिक्षक पनि हुन नसकेको मान्छे राजनेता हुने गरेको उदाहरण पनि दिए। नेकपा विभाजनपछि सडकमा पुगेका तीनजना पूर्व प्रधानमन्त्रीहरु तर्फ संकेत गर्दै भने, ‘शिक्षा क्षेत्रमा सुधार नभएका कारण केही काम नलाग्ने मान्छे राजनीति तर्फ प्रवेश गर्छन्। उनीहरुलाई अरु केही कुराको मतलब हुँदैन। आफ्नो भनेको जस्तो भएन भने रोडमा जान्छन् र सडकमै बसेर छातिमा ठूलो अक्षरले लेख्छन् ‘हामी यहाँ छौं’।’ पुनः एकपटक सभाहलभरी हासोँ गुन्जियो। उनले देशको शिक्षा नीति सुधार गर्नु पर्नेमा जोड दिए। ‘चीनमा राम्रो पढ्न जान्ने विद्यार्थीलाई राजनीतिमा लिइन्छ। हाम्रोदेशमा भने विडम्बना उनीहरु विदेश जान्छन्। अमेरिकाले अलि जान्ने विद्यार्थी भेट्यो भने चाडैँ भिषा दिन्छ। अब देश कस्ताका हातमा पर्छहोला आफै बुझ्नुहोस्।’ उनी भन्दै थिए, ‘त्यसपछि सडकमा देखिने दृश्यलाई किन आश्चार्य मान्नु। राजनीति गर्यो भन्नु होला। म राजनीति गरेर नै यो ठाउँमा आएको हुँ।’

उनले शिक्षा क्षेत्रको नाङ्गो तस्वीर देखाएका कारण कसैलाई अफ्ठेरो परे आफूले क्षमा मागेको पनि बताए। उनले भने, ‘सबै विद्धत्व व्यक्ति हुनुहुन्छ। सचिवज्यूहरु हुनुहुन्छ। यो शिक्षाको यथार्थ राख्दा चित्त दुखे क्षमा चाहान्छु। तर, सत्य हो। हामी जुनदिनसम्म बस्छौं शिक्षामा आमुल परिवर्तका लागि काम गर्नु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *