जहाँ २०२० सालमा जन्मभन्दा मृत्यु धेरै भए…

डिसी नेपाल
२१ पुष २०७७ १०:३२
144
Shares

काठमाडौं। विश्वको जनसंख्या बढिरहेको छ । यसको अर्थ विश्वमा नियमित रुपमा जति मानिसहरुको मृत्यु भइरहेको छ त्योभन्दा धेरै नयाँ शिशुहरुको जन्म भइरहेको छ । तर, दक्षिण कोरियामा भने २०२० सालमा २०१९ को तुलनामा जनसंख्या घट्यो अर्थात यो देशमा २०२० सालमा जन्मभन्दा मृत्यु धेरै भए । दक्षिण कोरियामा जन्मभन्दा मृत्यु धेरै भएको यो इतिहासमै पहिलो पटक हो । यद्यपि दक्षिण कोरियामा जन्मदर पहिलेदेखि नै न्यून थियो । दक्षिण कोरिया विश्वमै सबैभन्दा कम जन्मदर भएको देश हो ।

बीबीसीको रिपोर्टअनुसार जन्मदरका गिरावट र घट्दो जनसंख्याका कारण देशको अर्थतन्त्रमा खराब असर पर्छ । यही कारण नयाँ तथ्यांकले दक्षिण कोरियाको चिन्ता बढाएको छ । जन्मदर घट्दा देशमा काम गर्ने युवाहरुको संख्या पनि घट्छ । दक्षिण कोरियामा २०२० सालमा २ लाख ७५ हजार ८ सय बच्चाको जन्म भयो । २०१९ को तुलनामा यो १० प्रतिशत कम हो । अर्कोतर्फ २०२० मा दक्षिण कोरियामा ३ लाख ७ हजार ७६४ जनाको मृत्यु भयो ।

यो तथ्यांक सार्वजनिक भएपछि देशको गृह मन्त्रालयले सरकारी नीतिमा व्यापक परिवर्तन गरिने बताएको छ । दक्षिण कोरियाली महिलाहरुको अफिस र घरको जीवनमा तालमेलको कमीलाई यहाँ जन्मदर घट्नुको कारण मानिएको छ । कैयौं परिवारले भने आर्थिक कारणले बच्चा जन्माउने सोच त्याग्छन् । दक्षिण कोरियामा घट्दो जन्मदरलाई रोक्न गत महिना परिवारको लागि नगद दिने योजनाको घोषणा गरिएको थियो । यो योजना २०२२ मा लागू हुनेछ ।

यो योजनाअनुसार हरेक जन्मिएका बच्चाको परिवारलाई बच्चाको पालनपोषणको लागि एकमुष्ट २० लाख वन दिइनेछ । यसका साथै बच्चा एक वर्षको हुँदासम्म हरेक महिना ३ लाख वन दिइनेछ । अन्य देशहरुजस्तै दक्षिण कोरिया पनि कोरोना महामारीको चपेटामा परेको छ । सरकारले समयमै संक्रमण रोक्न व्यापक कदम उठाएपछि यहाँ संक्रमण धेरै हदसम्म नियन्त्रण भएको छ । यहाँ कोरोनाभाइरसका कारण कूल ९८१ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.