किन गर्जिन छाड्यो बादल ?

डिसी नेपाल
२९ पुष २०७७ ७:५७

काठमाडाैं। तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर नेकपा–माओवादी बनाउँदा मोहन वैद्यको बलियो खम्बाका रूपमा उभिएका थिए रामबहादुर थापा ‘बादल’। प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले संशोधनवादी धार समातेको आरोपसहित ठूलो संख्यामा नेता–कार्यकर्ता लिएर वैद्यतिर लागेका बादल खतरा क्रान्तिकारी भाषण गर्थे।

प्रचण्ड–बाबुरामलाई ‘लालगद्दार’ भन्दै गरेको भाषण त्यतिबेला निकै चर्चित थियो। समयक्रमसँगै न वैद्यले नेतृत्व दिएको पार्टीले क्रान्ति गर्‍यो न बादल क्रान्तिकारी सावित हुन सके। बरु बहुमत सदस्य लिएर उनी फेरि तिनै ‘लालगद्दार’ प्रचण्डतिर फर्किए। तत्कालीन एमालेसँग एकतापछि बनेको नेकपाको सचिवालय सदस्य हुँदै सरकारको गृहमन्त्री बने।

गृहमन्त्री बनेपछि केही नयाँ गर्लान् भन्ने आमअपेक्षा विपरीत खास नयाँ केही गर्न सकेनन्। बरु गर्छु भनेर घोषणा गरेका कतिपय निर्णयबाट पछि हटे। निर्मला हत्याकाण्डका अपराधी पक्राउ गर्न नसकेको आरोप त अहिलेसम्मै खेप्नुपरिरहेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानिँदा पनि चुपचाप बसे।

आफ्नै मन्त्रालयअन्तर्गत डिआइजी, एआइजीको नियुक्ति मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयनमा आइसक्दासमेत ‘थाहा नपाएर’ निरीहताको पराकाष्ठा नै देखाए। कम बोल्ने, हमेशा मिडियामा आउन नचाहने, आफ्नै कार्यकर्तासँग पनि खुलेर कुरा नगर्ने स्वभावका बादल के गर्दैछन् (उनको नजिकका भनिएकालाई पनि हत्तपत्त थाहा हुँदैन।

पछिल्लो समय नेकपाको विभाजनमा ओलीतिर लागेपछि उनका भनिएका अधिकांश झसंग भए। सिंगो नेकपाभित्र बादल पक्षका झण्डै चार दर्जन ठुल्ठूला पदीय जिम्मेवारीमा थिए तर उनी एक्लै ओलीतिर लागेपछि अहिले चर्चा छ, बादललाई के आइलाग्यो जसकारण आफ्नो टिमलाई घात गरे! त्यसो त बादल राष्ट्रियसभामा अरू चार वर्ष ढुक्क छन्, अरूलाई जस्तो पैसा खर्चेर, घरदैलो धाएर चुनाव लड्नु पनि छैन!

आफ्नो लेनादेना नभएको प्रतिनिधिसभा आए पनि के मतलब, गए पनि के मतलब ! बादल निकटस्थहरूका अनुसार उनमा पदकै लागि मरिहत्ते गर्ने स्वभाव यसअघि थिएन। उनीहरूको भनाइलाई पत्याउने हो भने बादलले किन ओलीको प्रतिगमनलाई साथ दिए बुझिनसक्नु छ। ती नेता भन्छन्, ‘हिजो पार्टी फुट्दा पनि र जुट्दा पनि साथ दिएकाहरू सबैले अनुरोध गर्दा पनि उहाँ टसमस हुनु भएन।’

अहिले बादललाई आफ्नो सचिवालय बनाउन पनि पूर्वएमालेका नेता–कार्यकर्ता खोज्नुपर्ने अवस्था रहेको ती नेताको दाबी छ। बादलनिकट अर्का एक नेता भन्छन्, ‘नेकपामा ओली, प्रचण्ड र माधव नेपालपछि बादलको शक्ति बलियो थियो तर उनले कहिल्यै पनि आफ्नो शक्ति विस्तार गर्ने र पार्टीमा प्रभाव कायम गर्नेतर्फ पहल नै गरेनन्। बरु पुल्चोकबाट सिंहदरबार जाने र फर्किने नै दैनिकी बन्यो।’

निकट नेताहरूको भनाइ मान्ने हो भने पछिल्ला दिन बादलमा महत्वाकांक्षा पनि हराउँदै गएको थियो। उनले आफ्नो राजनीतिक लक्ष्य नै निर्धारण गर्न सकेका थिएनन्। पार्टीमा फस्र्टम्यान बन्न नसकिने र प्रधानमन्त्री बन्ने सम्भावना पनि नदेखेका कारण बादलले लत्तो छाडेको उनीहरूको दाबी छ।

नेकपाको विवादमा अन्तिमसम्म कतै नखुलेका तर अप्रत्यक्ष रुपमा बालुवाटारलाई सघाइरहेका बादल ओलीतिर लागेपछि संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अग्रगमनकारी र क्रान्तिकारी भन्दै बचाउ गरे। बादल यो हदसम्म गिरेका हुन् त भन्ने प्रश्नमा हिजो उनीनिकट रहेका अधिकांश नेताको एउटै भनाइ छ, ‘हामी पनि अचम्ममा परेका छौं, सरकारमा रहँदासम्म प्रधानमन्त्रीको आलोचना गर्न नैतिक संकट थियो होला तर जननिर्वाचित संस्था नै विघटन गर्नेजस्तो चरम प्रतिक्रान्तिकारी हर्कतको पक्षमा पनि किन उभिनुभयो, हामीले पनि बुझ्न सकेका छैनौं।’

बादलको खास मान्छे भनेर चिनिएका अर्का एक नेताका अनुसार प्रचण्डसँगको मनमुटावका कारण उनी ओलीतिर गएका हुन्। बादललाई गृहमन्त्रीबाट हटाउन प्रचण्डले आन्तरिक तयारी गरेको सूचना कसैले उनकोे कानसम्म पु¥याइदिएपछि त्यसैको प्रतिशोधस्वरूप अहिले साथ नदिएको हुन सक्ने ती नेताको भनाइ छ। बादल अहिले जनताको बहुदलीय जनवाद (जबज) को माष्टर बनेका छन् । ओलीले उनलाई जबजको प्रशिक्षण दिन देशैभरिका कार्यक्रममा वक्ताको रूपमा खटाएका छन्।

माक्र्सवाद र माओवादलाई आफ्नो जीवनदर्शन मानेर यहाँसम्म आइपुगेका बादल अहिले जबजको प्रवक्ताजस्तै बनेर हिँड्नु विडम्बना भएको निकट नेताहरूको भनाइ छ। आफ्नै सचिवालयका मान्छेहरूले समेत साथ नदिँदा पनि ओलीतिरै लाग्नुपर्ने के बाध्यता पर्‍यो होला बादललाई? पहिला बादलनिकट तर अहिले प्रचण्ड–नेपालतिर लागेका एक केन्द्रीय सदस्य भन्छन्, ‘बादलजत्तिको मान्छेले राजनीति नबुझेको पक्कै होइन। उहाँले सहायक कुरालाई प्रधान र प्रधान कुरालाई सहायक मान्नुभयो । त्यसैले यो अवस्था आयो।’

उनको कुरालाई मान्ने हो भने कुनै बेला ट्रेडिशनल क्रान्तिकारी नेताको रूपमा चिनिएका मोहन वैद्यजस्तो नेताको बलियो खम्बा बनेका बादल अहिले उनमा आएको वैचारिक विचलनकै कारण ओलीजस्तो मध्यपन्थी नेताको सारथि बन्न पुगेका छन्। आजको जनआस्था साप्ताहिकले समाचार छापेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *