महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने

डिसी नेपाल
७ माघ २०७७ १०:१५
60
Shares

काठमाडाैं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ। पहिलोपटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन्।

पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन्। एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउनेछन्।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *