अल्ट्रा म्याराथनको तयारी तीव्र

डिसी नेपाल
१३ माघ २०७७ १०:४०

दमौली । शहीद दिवसको अवसरमा यही माघ १६ गते आयोजना हुने चौथो व्यास अल्ट्रा म्याराथनको तयारी तीव्र पारिएको छ । चवालीस किमी दूरीको म्याराथनका लागि देशका विभिन्न जिल्लाबाट धावकहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । माघ १४ गतेसम्म नाम दर्ताको समय राखिएको र १५ गते धावकलाई अभिमुखीकरण सञ्चालन गरिनेछ । धावकले नियम पालना गरे÷नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास–४ व्यास रेन्जपोष्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्रसय, व्यास–८ रिस्ती सोतीबेँसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँडिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *