तल्लो अरूण जलविद्युत् आयोजनाः ७९ प्रतिशत विद्युत् भारतले लैजाने
सांकेतिक तस्वीर
काठमाडौं। ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजना निर्माण गर्न छनोट भएको भारतको एसजेभीएन लिमिटेडले उक्त प्रोजेक्टबाट उत्पादन हुने ७९ प्रतिशत विद्युत् भारतमै लैजाने भएको छ ।
कम्पनीले उक्त आयोजनाबाट उत्पादन हुने सो बराबरको विद्युत् अर्थात् ५३६ दशमलव ४१ मेगावाट विद्युत् भारतीय बजारमा नै निर्यात गर्ने भएको हो । २१ प्रतिशत अर्थात् १४६ दशमलव ३७ मेगावाट विद्युत् भने नेपालले निःशुल्क पाउनेछ । आयोजना बनाउने प्रस्ताव पेश गर्दा नै कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।
योसँगै नेपालबाट विद्युत् निर्यात गर्नेगरी निर्माण हुने आयोजनाको संख्या ३ पुगेको छ । एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र भारतको जीएमआर कम्पनीले निर्माण गर्ने ९०० मेगावाटकै अपर कर्णाली जलविद्युत् आयोजनाले पनि नेपालाई तोकिएको मात्रामा निःशुल्क विद्युत् दिएर बाँकी सबै विद्युत् निर्यात गर्नेछन् । नेपालले अरूण तेस्रोबाट २१ दशमलव ८८ प्रतिशत र अपर कर्णालीबाट १२ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ ।
लगानी बोर्डले गत हप्ता तल्लो अरूण जलविद्युत् आयोजना बनाउन भारतको एसजेभीएनलाई छनोट गरेको हो । उक्त कम्पनीसँग प्रतिस्पर्धामा रहेको चिनियाँ कम्पनीले भने २५ प्रतिशतसम्म विद्युत् निःशुल्क दिने प्रस्ताव गरेको थियो । तर, छनोटका लागि बनाइएको समग्र मापदण्ड मूल्यांकन गर्दा एसजेभीएनको नम्बर बढी आएपछि सोही कम्पनीलाई नै छनोट गरिएको बोर्डको भनाइ छ ।
ऊर्जा मन्त्रालयको एक उच्च स्रोतका अनुसार एसजेभीएनले चिनियाँ कम्पनीलाई लगभग ३ नम्बरले पछि पारेको छ । ‘निःशुल्क विद्युत्लाई मात्र लिएर मूल्यांकन गरिएको होइन । तोकिएको सबै मापदण्डमा मूल्यांकन गर्दा जम्मा नम्बर एसजेभीएनको बढी आयो,’ उनले भने, ‘त्यसपछि यही कम्पनी नै छनोट भएको हो ।’ मूल्यांकनमा चिनियाँ कम्पनीले ८१ र एसजेभीएनले ८३ अंकको हाराहारीमा नम्बर पाएको उनको भनाइ छ ।
आयोजना विकासका लागि छनोट भएपछि कम्पनीको उक्त प्रस्ताव नेपाल सरकारले स्वीकार गरिसकेको छ । तर, आयोजना विकास सम्झौता गर्दा भने त्यसमा संशोधन पनि हुन सक्ने बताइएको छ ।
प्रक्रियागत रूपमा अब बोर्डले उक्त कम्पनीसँग आयोजना कसरी विकास गर्ने भन्ने विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीलाई बोर्डले नै सर्बे लाइसेन्स र निर्माणको अनुमतिपत्र दिनेछ । आर्थिक अभियान दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment