खेलकुद मन्त्रालयको गम्भीर त्रुटि, सम्मान पाउनुपर्ने पत्रकारको बेइज्जती !

डिसी नेपाल
२० माघ २०७७ १७:०४
116
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिता पुरस्कारको आज घोषणा गरेको छ । तर मन्त्रीस्तरीय निर्णय गरी पुरस्कारका लागि छानिएका पत्रकारको सूचीमा गम्भीर गल्ती भएको छ । यो त्रुटिले पुरस्कारका लागि छानिएका पत्रकार सम्मानित हुनुपर्नेमा उल्टै बेइज्जती हुने स्थितिको सृजना भएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्मान तथा पुरस्कारका लागि छानिएका पत्रकारहरुको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले गठन गरेको पुरस्कार तथा सम्मान सिफारिस समितिले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानका लागि नागरिक दैनिकमा कार्यरत दाङका कमल खत्रीलाई छानेको छ । महिला वा दलिततर्फ खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारको लागि दोलखाकी राससकी पत्रकार मुना कार्कीलाई छानेको छ ।

यस्तै प्रदेशगत प्रोत्साहन पुरस्कारका लागि प्रदेश १ बाट हाम्रो खेलकुद डटकममा कार्यरत झापाका हिमालचन्द्र खरेल, प्रदेश २ बाट खेलकुद साप्ताहिकमा कार्यरत महोत्तरीका रञ्जन कुमार भण्डारी, बाग्मती प्रदेशबाट नागरिक दैनिकमा कार्यरत काठमाडौंका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुर दैनिकमा कार्यरत पाल्पाका माधव प्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट नेपलेज डटकममा कार्यरत दाङका मुक्तिबाबु रेग्मी, कर्णालीबाट बाह्रखरीमा कार्यरत जुम्लाका भूपेश उपाध्याय तथा सुदूरपश्चिम प्रदेशबाट खबरकुञ्ज डटकममा कार्यरत डोटीका सिताराम ओझाको नाम सार्वजनिक गरिएको छ ।

प्रत्येक प्रदेशबाट एक जना पत्रकारलाई पुरस्कृत गरिनुपर्ने भए पनि लुम्बिनी प्रदेशबाट २ जना परेका छन् र गण्डकी प्रदेशबाट कोही पनि परेका छैनन् । कान्तिपुरमा कार्यरत माधब अर्याललाई गण्डकी प्रदेशबाट पुरस्कृत गरिने भनिए पनि पाल्पा जिल्ला गण्डकी प्रदेश होइन, लुम्बिनी प्रदेश हो । अर्याल कान्तिपुरमा बरिष्ठ उपसम्पादक हुन् र उनको मुख्य कार्यक्षेत्र पाल्पा नै हो । उनको घर पनि पाल्पा नै हो ।

यस विषयमा डिसीनेपालले युवा तथा खेलकुद मन्त्रालयमा सोध्दा पुरस्कार तथा सम्मान सिफारिस सदस्य समेत रहेका भक्त ढकालले यो त्रुटिका विषयमा छलफल गरेर सुधार गर्ने बताए । तर, सुधार भएर आउँदा लुम्बिनी प्रदेशका २ जनामध्ये एक जनाको नाम हटाउनुपर्ने र गण्डकी प्रदेशबाट अर्को एक जना थप गर्नुपर्ने स्थिति आउँछ । लुम्बिनी प्रदेशबाट छानिएका माधब अर्याल र मुक्तिबाबु रेग्मीमध्ये जसको नाम हटाइए पनि नाम सार्वजनिक भइसकेको अवस्थामा अन्तिममा हटाइँदा हट्नेको बेइज्जती हुने स्थिति आउँछ।

मन्त्रालयले यस विषयमा पुनः छलफल गरेर सुधार गर्ने बताएको छ तर कसरी सुधार गरिन्छ भन्ने हेर्न बाँकी नै छ । मन्त्रालयले कुनै एक पत्रकारको बेइज्जती गर्ला ? वा सबै प्रदेशबाट २–२ जना सम्मानित गर्नेगरी अन्य प्रदेशमा पनि पुरस्कृत हुने पत्रकार थप्ला ? त्यो भने मन्त्रालयको अर्को निर्णयपछि मात्रै थाहा हुनेछ । यो समाचार तयार पारेर सकिँदा मन्त्रालयले ट्वीटरमा विज्ञप्ति जारी गरेको १ घण्टा बितिसकेको छ तर मन्त्रालयले त्यो विज्ञप्ति हटाएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *