नेपालले २ जना भारतीय पर्वतारोहीलाई प्रतिबन्ध लगाउने
काठमाडौं। नेपालले २ जना भारतीय पर्वतारोहीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । सगरमाथा आरोहण गरेको नक्कली फोटो बनाएर नेपालको पर्यटन मन्त्रालयमा बुझाइ सगरमाथाको सफल आरोहण गरेको प्रमाणपत्र लिएका ती २ पर्वतारोहीलाई प्रतिबन्ध लगाउन लागिएको हो । भारतीय पर्वतारोही नरेन्दर सिंह यादव र सीमा रानी गोस्वामीलाई १० वर्षसम्म नेपालका कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरिएको हो ।
यादव र गोस्वामीले २०१६ मा सगरमाथा आरोहणको दावी गरेका थिए । तस्वीरमा उनीहरु सगरमाथाको शिखरमै भएजस्तो देखिन्थ्यो । तर स्थानीय शेर्पाहरु र दिग्गज पर्वतारोहीहरुले उनीहरुको दावी झुटो भएको बताएका थिए । दिग्गज पर्वतारोहीहरुले उनीहरुले प्रयोग गरेको अक्सिजन मास्क कुनै ट्युबमार्फत अक्सिजन ट्यांकसँग नजोडिएको, उनीहरुले लगाएको चस्मामा कुनै पनि हिमालको परावर्तन नदेखिएको, हावा चलिरहने ठाउँको रुपमा परिचित शिखरमा झण्डा हावाले नहल्लिएको जस्ता तर्कहरु दिएका थिए । पछि अधिकारीहरुले अनुसन्धान गर्दा उनीहरुले सगरमाथा आरोहण नगरेको र फोटोहरु नक्कली भएको खुलासा भएको थियो ।
‘उनीहरुले सगरमाथा आरोहण गरेको भनी गरेको दावी स्थापित हुन सकेन’ पर्यटन मन्त्रालयका अधिकारी प्रदीप कुमार कोइरालाले न्यूयोर्क टाइम्ससँग सोमबार भने ‘हामीले उनीहरुविरुद्ध कारवाहीको सिफारिस गरेका छौं । कोइरालाले यादव र गोस्वामीको दावीबारे अनुसन्धान गर्न गठित समितिको नेतृत्व गरेका थिए । यादवले एक अन्तरवार्तामा आफूले सगरमाथा आरोहण गरेको पुष्टि गर्न आवश्यक सबै प्रमाणहरु आफूसँग भएको बतार्एका थिए । उनले गलत सूचना फैलाएको भन्दै आफ्ना गाइडविरुद्ध प्रहरीमा उजुरी पनि गरेका थिए । गोस्वामीले भने न्यूयोर्क टाइम्सले प्रतिक्रिया लिन खोज्दा कुनै जवाफ दिइनन् ।







डिसी नेपाल







Facebook Comment