चितवनमा १७ औँ संस्करणकाे प्रेम मार्केट च्याम्पियनसिप हुँदै

डिसी नेपाल
२६ माघ २०७७ ९:११
60
Shares

चितवन । चितवन क्रिकेट संघको आयोजनामा १७ औँ संस्करणका रूपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ। प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा (५० ओभर)को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

प्रतियोगितामा जिल्लाभरका छ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए। उनका अनुसार चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र गीतानगर क्रिकेट क्लब प्रतियोगितामा सहभागी हुनेछन्।

६ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ। ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए। यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उनले बताए।

प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, सङ्घर्ष पौडेललगायतका खेलाडीले खेल्नेछन्। यस प्रतियोगिताले युवा खेलाडीको स्तरवृद्धिमा सहयोग पुर्याउने संघले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढ रहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.