दार्चुला–तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्याे
दार्चुला। महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।
गत साउन महिनाको अन्तिम साता दार्चुला सदरमुकाम खलंगा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलंगाबाट साइटतिर प्रस्थान गरेकोमा शनिबार निर्माण स्थलमा पुगेको छ । निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीहरु सहित व्यास गएको हो ।
दार्चुला पुगेको निर्माण सामाग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्री समेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ। व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरि सडक निर्माणको काम शुरु गर्ने तयारी थालिएको प्रमुख सेनानी राणाले बताए।
नेपाल सरकारले घाँटिबगरदेखि तिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाको टोली निर्माणस्थलमा पुगिसकेको छ । खलंगादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–तिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट्र्याक खोलेको छ।
बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माण स्थलमा गएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो सम्पन्न गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिए।
२०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निर्णयले सेनालाई उक्त सडक निर्माण गर्ने जिम्मेवारी दिएको हो । सडक निर्माणको लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई वटा बेस क्याम्प राख्ने तयारी गरेको छ।
पहिलो क्याम्प सुन्सेराभन्दा तीन किलोमिटर अघि रहेको छ । दार्चुला सदरमुकामबाट सुन्सेरा ४० किलोमिटर रहेको छ । सुन्सेराबाट तीन किलोमिटर अगाडिसम्मको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ । सेनाले दोस्रो क्याम्प राख्न लागेको दुम्लिङ कोठेधारबाट १८ किलो मिटर माथि पर्छ ।
यस्तै छाङरु–तिङ्करसम्म पुग्नको लागि घोडेटो बाटो निर्माणको काम पनि सँगै अघि बढ्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलीडारले बोलपत्र आह्वान गरेको छ । अब व्यास गाउँपालिका–१ छाङरु–तिङ्करसँगै कालापानी क्षेत्रमा पुग्न सडक र घोरेटो बाटो निर्माणको काम एकसाथ अघि बढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताएकाे गाेरखापत्र दैनिकमा लाेकेन्द्र जाेशीले समाचार लेखेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment