राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

डिसी नेपाल
४ फागुन २०७७ ७:०३

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन्।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गरेकी थिइन्। पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो। पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गरिन्।

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछिको खेलको ६९ औँ मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरेकी थिइन्। खेलको ७५ औँ मिनेटमा पुलिसका लागि जैशीले गोल गरिन्। यस्तै खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गरिन्। जितसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ। एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अङ्क जोडेको छ भने पुलिसले १० खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ।

एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो। विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन्। उनले खेलको ३५ औँ मिनेटमा फ्रिकिकमा गोल गरेकी हुन्। मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङविरुद्धको खेलमा दबावमा खेलेको थियो। उसले गोल गर्न सकेन। जितपछि विराटनगर १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *