संसद भवनमा रक्षा मन्त्रीको कार्यकक्षमा कर्मचारी बलात्कृत, प्रधानमन्त्रीले सहयोग गरेनन्

डिसी नेपाल
४ फागुन २०७७ १५:०३
3.5k
Shares

काठमाडौं। देशको कानुन निर्माण गर्ने स्थान संसद भवन हो । यहाँ देशका जनतालाई न्याय दिलाउनको लागि नयाँ कानुन निर्माण, कानुन संशोधन वा परिमार्जन गरिन्छ । जनताबाट निर्वाचित प्रतिनिधिले जनतालाई न्याय दिलाउनको लागि कानुन निर्माण गर्ने स्थानमा कोही महिला बलात्कृत भएर न्याय नपाएको गुनासो गरेपछि अहिले अस्ट्रेलिया तरंगित भएको छ ।

एबीसी न्यूज अस्ट्रेलियाको रिपोर्टअनुसार यहाँकी एक पूर्व सरकारी कर्मचारीले आफूमाथि संसद भवनमै बलात्कार भएको आरोप लगाएकी छिन् । २६ वर्षकी ब्रिटनी हिगिन्सका अनुसार २०१८ मा उनी एक पार्टीमा गएकी थिइन् । त्यस रात पार्टीमा उनले मदिरा पिइन् । एक सहयोगीले उनलाई संसद भवनमा रक्षा मन्त्रीको कार्यकक्षमा लिएर गए । त्यहाँ उनलाई बलात्कार गरियो । त्यतिबेला स्कट मोरिसनको गठबन्धन सरकार थियो । प्रधानमन्त्रीले यस विषयमा सही तरिकाले जाँच गराएनन् ।

ब्रिटनीले बलात्कारीको नाम भने अहिलेसम्म बताएकी छैनन् । ब्रिटनी त्यतिबेला २४ वर्षकी थिइन् । ब्रिटनीले बलात्कारीलाई रोक्ने प्रयास गरेको तर नसकेको बताएकी छिन् । ब्रिटनीका अनुसार उनले सहकर्मीहरुलाई यसबारे जानकारी दिएकी थिइन् । सरकार र पुलिसलाई पनि यसबारे विस्तारमा बताएर प्रमाणसमेत दिएकी थिइन् । डेमोक्रेटिक पार्टीले उनलाई न्याय दिलाउने विश्वास पनि दिलाएको थियो तर अहिलेसम्म केही भएको छैन ।

ब्रिटनीले बलात्कारीको नाम सार्वजनिक गरेकी छैनन् । यद्यपि यति भने बताएकी छिन् कि बलात्कारी लिबरल पार्टीका उदाउँदा राजनीतिज्ञ हुन् । ब्रिटनीले त्यस रात आफू नशामा भएको स्वीकार गरेकी छिन् । ब्रिटनीका अनुसार उनले रक्षा मन्त्रीलाई यसबारे जानकारी दिएकी थिइन् । १२ अन्य व्यक्तिहरुलाई पनि यसबारे बताएकी थिइन् । यो घटनाको केही समयपछि प्रधानमन्त्री स्कट मोरिसनले देशमा निर्वाचन घोषणा गरेका थिए ।

यसैबीच प्रधानमन्त्री स्कट मोरिसनले यस घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री मोरिसनले घटनाको जाँच सही तरिकाले नभएको स्वीकार गरेका छन् । ब्रिटनीको उजुरीमाथि अब नयाँ तरिकाले पुनः अनुसन्धान सुरु गरिएको छ । प्रधानमन्त्री मोरिसनले आफ्नो पार्टीले नै ब्रिटनीलाई पुलिसमा दिएको उजुरी फिर्ता लिन दबाब दिएकोप्रति आश्चर्य र दुःख व्यक्त गरेका छन् ।

ब्रिटनीले आफूलाई पार्टीले ‘जागिर बचाउनु छ भने उजुरी फिर्ता लिनू’ भनेर दबाब दिएको बताएकी छिन् । आफू अन्यायमा परेको अवस्थामा आफूलाई नै चुप लाग्न भनिएकोप्रति ब्रिटनीले दुःख व्यक्त गरेकी छिन् । अस्ट्रेलिया सरकारले जारी गरेको तथ्यांकअनुसार त्यहाँ १५ वर्षमाथिका हरेक ६ मध्ये १ महिला यौनहिंसाको शिकार हुन्छन् । तथ्यांकमा काम गर्ने ठाउँमा यौन हिंसाको शिकार भएको घटनाहरु पनि उल्लेख्य भएको देखाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *