महिला राजनीतिज्ञमाथिको अभद्र टिप्पणी : पार्टी विवादलाई लिएर लैङ्गिकतामाथि प्रश्न गर्नु राजनीतिक कुसंस्कार

डिसी नेपाल
१८ फागुन २०७७ ७:३७

काठमाडौं। घटना १ : २०७२ सालमा संविधान जारी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर मन्दिर पुगिन्। त्यहाँ आन्दोलनकारीले विधवाले प्रवेश गरेका कारण मन्दिर बिटुलिएको भन्दै चोख्याए। उक्त घटनालाई महिला राष्ट्र प्रमुखमाथि गरिएको निन्दनीय कार्य भएको आवाज उठ्यो।

घटना २ :  त्यो बेलामा आवाज उठाएको तत्कालीन नेकपा एमालेका नेतृ रामकुमारी झाँक्री संलग्न रहेको नेकपा (प्रचण्ड–नेपाल) समूहले माघ महिनामा आयोजना गरेको विरोध ¥यालीमा पनि राष्ट्रपतिमाथि गम्भिर आरोप सहितको प्रदर्शन भयो। नेकपा दुई समूहमा विभाजन भएपछि आफ्नै पार्टीबाट राष्ट्रप्रमुख बनेका महिलामाथि गरिएका भद्दा नारा जुलुसले नेपाली राजनीतिमा महिला अधिकार र समानता भन्ने शब्दलाई लाज छोप्न धौ धौ भयो।

घटना ३  :  माघ महिनामै गोरखामा आयोजित प्रचण्ड–नेपाल समूहको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले पुनः राष्ट्रपतिको चरित्रमाथि औंला उठाइन्। उनले राष्ट्रपतिलाई बालकोट जान सुझाइन्।

बालकोटमा प्रधानमन्त्री केपी शर्मा ओलीको घर भएको र सरकारका कार्यलाई राष्ट्रपतिले सहयोग गरेको भन्दै झाँक्रीले ओली निवासमा गएर बस्न अह्राइन्। पार्टीको महिला संघले दिएको उजुरीका आधारमा प्रहरीले झाँक्रीलाई पक्राउ समेत गरेको थियो।

घटना ४  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको बारेमा गरेको टिप्पणीले सामाजिक सञ्जालमा एक प्रकारको तरंग ल्यायो।

उक्त तरंगका बारेमा महिला अधिकारकर्मीहरुले खरो आलोचना गरे। रघुजी पन्तले आफ्नो आशय चरित्रहत्या गर्ने नभएको भनि बयान दिएको पनि सार्वजनिक भयो।

यी उदाहरणमात्र हुन्। राजनीतिक कार्यक्रममा महिला राष्ट्रप्रमुखबा बारेमा बोलिएका असभ्य भाषाहरु सुन्न नसकिने अवस्थामा छन्। फरक राजनीतिक विचार राखेपछि आलोचना स्वभाविक मान्न सकिन्छ ।

तर, आलोचनाको नाममा महिलाको चरित्र हत्या हुने, लैङ्गिक विभेदका भाषाहरु प्रयोग हुनु पृतिसत्ता सोचको पराकाष्ठा मात्र होइन् अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको महिला अधिकारकर्मीको भनाइ छ।

विश्वमा महिला अधिकार र समानाका लागि लडेका १ सय १० वर्ष भन्दा बढी पुगेको छ। नेपालमा पनि पछिल्लो समय लैङ्गिक समानताका लागि ठूला ठूला आन्दोलन भएका छन्। नेपालको संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायहरुमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुने हक हुने व्यवस्था गरिएको छ।

०००

नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त पछिल्लो समय महिला माथि गरिएको टिप्पणीका कारण विवादमा तानिएका छन्। उनले राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीका बारेमा आपत्तिजनक शब्द बोलेका थिए।

पन्तले भनेका थिए ‘कोमल वली सारी माथि सारेर पिँडुला देखाएकै भरमा राष्ट्रिय सभामा पुगेकी हुन्। नेकपा भित्र अरु पनि विवाह नगरेर बसेका महिलाहरु हुनुहुन्छ।’

नेपाली कांग्रेसकी महिला नेतृ डिला संग्रौला (पन्त) लैङ्गिक प्रश्न उठ्नु महिला माथि हुने विभेद बताउँछिन्। महिलाहरु पनि पुरुष जस्तै सक्षम भएको र अवसर पाएपछि गर्न सक्ने उनको भनाइ छ।

नेकपाभित्र राजनीतिक संस्कार हराउँदै गएको संग्रौलाले टिप्पणी गरेकी छन्। उनले भनिन्, ‘उहाँहरुको पार्टी भित्रको विवादलाई लिएर लैङ्गिकतामाथि प्रश्न गर्नु, एकले अर्कालाई गाली गर्नु राजनीतिक असंस्कार हो। राजनीति सस्कार हराउँदै गएको छ भन्ने बुझ्न टाढा जानै पर्दैन।’

जनता समाजवादी पार्टीकी नेतृ चन्दा चौधरीले रघुजी पन्तको अभिव्यक्ति खेद जनक भएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, ‘उहाँ (रघुजी पन्त)को नैतिकता र बौद्धिकताले यस्तो खाले टिप्पणी गर्नु अशोभनीय मात्र हैन राजनीतिक गलत संस्कार पनि हो।’

‘देशको अगुवाई गर्ने, कानून र संविधानको पालना गर्ने र गराउनेबाट नै यस्तो सोच र शब्दको कल्पना पनि गर्न सकिँदैन। तर, उहाँहरुले नै यस्तो गर्छन भने अरुबाट हामीले कस्तो अपेक्षा गर्ने हो। हामीले निर्माण गर्ने समाज कस्तो हुने।’

वली लैङ्गिक हिंसाको चपेटामा पर्ने पहिलो महिला भने हैनन्। पार्टी भित्रबाट वा बाहिरबाट राजनीतिक विचार भएका कारण पुरुषहरुबाटमात्र महिला नेतृत्व लैङ्गिक हिंसाको चपेटामा परेका छैनन् महिलाबाट पनि यस्ता आरोप खेप्दै आएका छन्।

राष्ट्रियसभाको सांसद वलीले नेता पन्तले नीच अभिव्यक्ति दिएको प्रतिक्रिया दिएकी छन्। दाङमा रहेकी उनी काठमाडौं आएपछि कानूनविद्सँग सल्लाह गरेर अदालत जाने बताएकी छन्।

‘समानताको लागि संघर्ष गरिरहेकी महिलामाथि जुन किसिमको अभिव्यक्ति दिनु भयो त्यो आपत्ति जनक छ।’ वलीले भनिन्, ‘कानूनी प्रक्रियामा जाने सोच बनाएकी छु।’ गायिका कोमल वली प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खेलेकी छन् भने रघुजी पन्त प्रचण्ड–नेपाल समूहका नेता हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *