छारे झोलुङ्गे पुल जीर्णहुँदा समस्या

डिसी नेपाल
२६ फागुन २०७७ ७:५१
92
Shares

सिमिकाेट । खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको छारेस्थित झोलुङ्गे पुल जीर्ण हुँदा मानिस तथा घरपालुवा पशुवस्तुलाई आवतजावत गर्न समस्या भएको छ।

विसं २०४५ मा निर्माण भएको सो पुलमाथि हालिएका काठका फल्याक कुहिएर गएको छ । अहिले फल्याक राखेको ठाउँमा ढुङ्गा राखेर मानिस तथा घरपालुवा पशुवस्तुले ज्यानै जोखिममा राखी आवतजावत गर्नुपरेको रिपका स्थानीयवासी कुम्बिर परियारले बताए। पुलको दुवैतर्फ हालिएका फलामका जाली पनि खिया लागेर भाँचिने अवस्थामा रहेको उनले जानकारी दिए।

उक्त पुलबाट खसेर दुई दर्जनजति घरपालुवा पशु वस्तु कर्णालीले बगाएर लगेको सोही ठाउँमा होटल व्यवसायी गरेर बसेका ट्वारे रावलले बताए। बेलाबेलामा सानोतिनो बजेट सर्केगाड गाउँपालिकाले विनियोजन गरे पनि झारो टार्ने काम बाहेक अन्य विकल्प नभएको स्थानीयवासीले गुनासो गरेका छन्।

गाउँपालिकाका जनप्रतिनिधिको आवातजावत गर्ने मुख्य बाटो त्यही पुल भए पनि कोही कसैको ध्यान जान सकेको छैन। जिल्लाकै मुख्य पुल भएकाले सम्बन्धित सरोकारवाला निकायले यो ठाउँमा पुल निर्माण तथा मर्मत गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *