ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छः सञ्चारमन्त्री

रासस
२९ फागुन २०७७ १८:५४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए ।

उहाँले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए । “गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन”, उनले भने, “मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो ।”

उनले ताजा जनादेशले पार्टीको सङ्गठनलाई पनि मजबुद बनाउने धारणा राखे । मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरे । उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए ।

“सरकार, पार्टी नेतृत्व र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो”, उनले भने, “बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।” उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएको समेत स्पष्ट पारे । उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेको समेत बताए ।

प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए। नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए। सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *