कमलपोखरीमा साढे २ करोड लिटर पानी हालिने

डिसी नेपाल
५ चैत २०७७ २०:५९
348
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुनर्निर्माण चैत मशान्तसम्ममा सम्पन्न गर्ने गरी काम गरिरहेको जानकारी दिएको छ।

‘केही दिनमा हामी पोखरीमा टनाटन पानी भर्छौ’, महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कामको प्रगतिका बारेमा जानकारी दिँदै भने, ‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ। अबको केही दिनमै हामी पोखरीमा साढे २ करोड लिटर पानी भर्ने तयारीमा छौँ।’

पानीको दिगो स्रोतका विषयमा सोधिएको प्रश्नको जवाफमा प्रमुख शाक्यले भने, ‘पुनर्निर्माणका क्रममा हामीले आकाशे पानी पोखरीमा जम्मा हुने प्रणाली विकास गरेका छौं। बाहिरी र प्राकृतिक गरी दुवै प्रकारका स्रोतको पानीले पोखरीमा पानीको सतह सधैँ एकनास कायम गराउँछौं।’

‘कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भन्ने हल्लाले समाजमा भ्रम सिर्जना भयो। म यसको विरोध गर्नेहरुलाई आग्रह गर्न चाहन्छु। आउनोस्, हामी तपाईलाई डिजाइन देखाउँछौं। हाम्रो डिजाइनमा कमलपोखरीको ऐतिहासिकता र यसको गरिमा नासिने कुनै पनि संरचना जोडेका छैनौं।’

उनले योजनाका बारेमा थप स्पष्ट पार्दै भने, ‘हल्ला गरे जस्तो गरेर हामीले पोखरीकोबिचमा कंक्रिटको कमलको राख्दैनौं। पोखरी शतप्रतिशत बास्तुशास्त्रमा आधारित छ।’

पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ ओटा मण्डप रहने बताए।

‘पोखरी पुननिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको छ। पहिला बेबारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौँ। सहभागितामुलक निर्माण कार्यका लागि हामीले संघीय र प्रदेश सांसद तथा स्थानीयसँग पटक पटक सल्लाह गरेका छौैँ। कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना हामीले नै भत्काएका हौँ। त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो’, प्रमुख शाक्यको भनाइ छ।

काठमाडौंमा सम्पदा क्षेत्रलाई पर्यटन व्यवस्थापनको पक्षसँग जोडेर दिगो बनाउँदै लैजाने योजना सुनाउँदै प्रमुख शाक्यले, महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवर्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको बताए।

‘त्यही योजना र कार्यक्रमअन्तर्गत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीको गुरुयोजना बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको हौँ। यसको पुननिर्माण सम्पन्न गरेर पहिलेकोभन्दा आकर्षक बनाउने काममा सबैबाट सहयोगको अपेक्षा गरेको छु।’

अहिले महानगरपालिकाले गुठीयारहरुलाई सहयोग गर्दै आएको छ। ‘व्यक्तिगत वा समुदाय स्तरबाट संरक्षण गर्दै आएका मूर्त– अमूर्त सम्पदाको बचावटका लागि गुठी गहनालाई सहयोगको थालनी गर्नु सम्पदामा सरकारको सहयोग हो। अपुग हुन सक्छ तर सरकार वेखवर छैन। बहाः, बहिः, पाटी–पौवा, मठ–मन्दिरदेखि जात्रा, चाड–पर्व चलाउने वा बचाउने कुनै पनि माग महानगरबाट अस्वीकार हुँदैन,’ प्रमुख शाक्यको भनाइ छ।

कतैबाट अवरोध नहुने हो भने चैत भित्र पोखरी पुनर्निर्माणको पहिलो चरणको काम सम्पन्न गर्ने प्रमुख शाक्यको लक्ष्य छ। दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बिट भएको ठाउँलगायत ठाउँमा पार्क निर्माण हुनेछ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा पुनर्निर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको छ। करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरी पुनर्निर्माणपछि फेरिएको स्वरुपमा हुनेछ। कमलपोखरीमा ९ ओटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ। पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ। पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन्। पोखरीमा ५ ओटा मकरधारा निर्माण गरिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.