विद्यालय बन्द गरेर सरकारले रमाइलो गर्याे : डा. विद्यानाथ कोइराला
काठमाडाैं। वायुप्रदुषणलाई कारण देखाएर देशभरका विद्यालय बन्द गर्ने सरकारी निर्णयको बिरोध हुन थालेको छ। शिक्षा मन्त्रालयले साेमबार वायु प्रदुषणलाई कारण देखाएर देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे थियाे।
शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले डिसी नेपालसँगको कुराकानीमा भनेका छन्, ‘जुन कारण देखाएर सरकारले विद्यालयहरु बन्द गरेको छ। त्यो उसको गलत काम हो। विद्यालय बन्द गरेर सरकारले राम्रो या नराम्रो के गर्यो भन्दा पनि त्यसलाई म सरकारले गरेको रमाइलो मान्छु।’
कोइरालाका अनुसार वायु प्रदुषणको समस्या देशैभरी छैन। यो काठमाडाैं उपत्यकाको समस्या हो। उपत्यकामा समस्या देखिँदा देशभरका विद्यालय बन्द गरिनु सरकारी अकर्मन्यताको उदाहरण हो। काेइरालाले सरकारले अहिले काठमाडाैं उपत्यकाका र वातावरणीय प्रदुषण उच्च भएका स्थानलाईमात्र ध्यान दिएर निर्णय गरेको भए राम्रो हुने बताए।
शिक्षाविद् कोइरालाले भनेजस्तै देशभरीका विद्यालय चार दिन बन्द गर्ने सरकारी निर्णयलाई बिभिन्न स्थानीय निकाय र नागरिक प्रतिनिधिले समेत बिरोध गरिरहेका छन्। कतिपयले केन्द्र सरकारको निर्णयलाई स्थानीय सरकारको अधिकारमाथिको हस्तक्षेप समेत भनेका छन्। तनहुँको भिमाद नगरपालिकाले त साेमबार नै विज्ञप्ति जारी गरेर सरकारले भनेजस्तो वातावरणीय समस्या नदेखिएकोले नियमित रुपमा विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ।
कोइरालाका अनुसार अहिले विद्यालय बन्द गरेर गल्ती त भयो नै, यो चार दिनमा शिक्षकहरुलाई ८ कक्षाको परीक्षाका लागि तयारी गर्न र सिकाइमा केन्द्रित गर्न सकेको भए राम्रो हुने थियो। ‘यो अविधमा शिक्षकले राम्ररी तयारी गर्न सक्ने थिए। विद्यार्थीलाई अनलाइनबाट भए पनि पढाउन सकिन्थ्यो। तर त्यसो नगरी बन्द गर्नाले आउन लागेको परीक्षा समेत प्रभावित हुने चर्चा बढ्न थालेको छ,’ उनले भने।








डिसी नेपाल







Facebook Comment