ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा

डिसी नेपाल
२५ भदौ २०८३ १०:४९

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा गरेका छन्।

डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’ को संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरे। “रिपब्लिकनहरू विजयी भएमा तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र पाँच हजार डलर पाउनुहुनेछ। यसलाई ट्रम्प लाभांश भनिन्छ”, उनले भने।

राष्ट्रपति ट्रम्पले रकम कहाँबाट जुटाइने हो भन्नेबारे स्पष्ट पारेनन्। प्रत्येक वयस्कलाई पाँच हजार डलर दिँदा राज्यकोषमा पर्ने भार खर्बौं डलर पुग्न सक्ने भए पनि उनले “हाम्रो देशले यति धेरै पैसा कमाउँदैछ” भनेका छन्।

नोभेम्बर ३ को निर्वाचनमा रिपब्लिकनलाई जिताउन समर्थकलाई आग्रह गर्दै उनले आफू मतपत्रमा रहेको कल्पना गरेर मतदान गर्न आह्वान गरे। हालका जनमत सर्वेक्षणमा उनको स्वीकृति दर ३० प्रतिशतको आसपास रहेको र उच्च मूल्यवृद्धि तथा इरानविरुद्धको युद्धप्रति मतदाताको असन्तुष्टि बढिरहेको बताइएको छ।

राष्ट्रपति ट्रम्पले इरानविरुद्धको युद्धको बचाउ गर्दै अमेरिका विजयी हुने र त्यससँगै तेलको मूल्य अझ घट्ने दाबी गरे। खाद्यान्नलगायत अधिकांश वस्तुको मूल्य घटिरहेको उल्लेख गर्दै उनले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई आफ्नै नाममा राख्न सकिने सुझावसमेत दिए।

उनले डेमोक्रेटहरू विजयी भए अमेरिका साम्यवादी देश बन्ने दाबी गर्दै आगामी निर्वाचनले देशको आगामी २५० वर्षको दिशा निर्धारण गर्ने बताए।

हालको प्रक्षेपणअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा २३० र रिपब्लिकनहरूले २०५ सिट तथा सिनेटमा डेमोक्रेटहरूले ५१ र रिपब्लिकनहरूले ४९ सिट जित्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पप्रति वफादार मतदातालाई परिचालन गर्नुका साथै उनको कार्यकालप्रति असन्तुष्ट स्वतन्त्र मतदातालाई पार्टीबाट टाढा जान नदिनु रिपब्लिकनका लागि मुख्य चुनौती बनेको छ।

अमेरिकन एयरलाइन्स सेन्टरमा भएको सम्मेलनमा रिपब्लिकनहरूले कर कटौती, आप्रवासन नियन्त्रण, उत्पादन वृद्धि र औषधिको मूल्य घटाउने विषयलाई प्राथमिकतामा राखेका थिए। सम्मेलनमा डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानको भिडियो सम्बोधनसमेत समावेश गरिएको थियो।

राजनीतिक चुनौतीका बाबजुद सम्मेलनको वातावरण उत्सवमय देखिएको थियो। राष्ट्रपति ट्रम्पका समर्थकले उनको नाम र तस्बिर तथा अमेरिकी झण्डा अङ्कित पोसाक लगाएका थिए। राष्ट्रिय गानका क्रममा ‘युएसए ! युएसए !’ को नारा गुञ्जियो।

मिशिगनबाट सहभागी ७७ वर्षीया कन्जरभेटिभ पोडकास्टर सुसान कोकिन्डाले रिपब्लिकनहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गर्दै भनिन्, “डोनाल्ड ट्रम्प परम्परागत राष्ट्रपति हुनुहुन्न र उहाँले रिपब्लिकन पार्टीलाई पुनः आकार दिइरहनुभएको छ।”

मध्यावधि निर्वाचनका लागि आयोजना गरिएको यो पहिलो रिपब्लिकन राष्ट्रिय सम्मेलन हो। औपचारिक पार्टीगत निर्णय वा उम्मेदवार मनोनयनभन्दा पनि राष्ट्रपति ट्रम्पको कार्यकाल र रिपब्लिकन उम्मेदवारको प्रचारमा केन्द्रित दुई रातको चुनावी कार्यक्रमका रूपमा सम्मेलन आयोजना गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *