घोडचढी विश्वकप छनोटमा भारतीय खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय झण्डाको दुरुपयोग गरेकाे आरोप

डिसी नेपाल
१७ चैत २०७७ ११:५७
640
Shares

बीबीसी नेपाली  । नेपालको प्रतिनिधित्व गर्दै भारतीय खेलाडीहरूले घोडचढी (इक्वेस्ट्रियन) विश्वकप छनोटमा भाग लिएको विषयमा नेपालको बदनाम भएको भन्दै नेपाल इक्वेस्ट्रियन सङ्घले सत्य तथ्य छानबिन गर्न अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन महासङ्घमा पत्राचार गर्न लागेको छ। नेपाल इक्वेस्ट्रियन सङ्घका अध्यक्ष रवि राजकर्णिकारले बीबीसीसँग भने, “हाम्रो सङ्घको बदनाम भएको छ र नेपाली राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ। त्यसैले हामी सत्यतथ्य छानबिन र गल्ती गर्नेलाई कारबाहीका लागि पत्राचार गर्दैछौँ।”

भारतको ग्रेटर नोयडामा दुई हप्ता अगाडि भएको इक्वेस्ट्रियनको विश्वकप छनोटमा भारतीय खेलाडीहरूले नेपालको झण्डाबाट खेलेका बताइएको छ। सो टोलीले उक्त प्रतियोगितामा तेस्रो स्थानसमेत हासिल गरेको थियो। तर नेपालको नामबाट नक्कली खेलाडीहरूको सहभागिताको खबर भारतीय मिडियामा आएपछि यो विषय सार्वजनिक भएको छ। नेपाल इक्वेस्ट्रियन सङ्घले प्रतियोगिताको बारेमा सङ्घलाई कुनै जानकारी नभएको बताइसकेको छ।

अध्यक्ष रवि राजकर्णिकारले भने, “न कुनै निम्तो, न जानकारी न त कुनै पहल नै। यो विषयमा सङ्घ पूर्णतस् अनभिज्ञ छ।” नेपाल इक्वेस्ट्रियन सङ्घले अहिलेसम्म अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन महासङ्घको पूर्ण मान्यता पाइसकेको छैन। त्यसैले अन्तर्राष्ट्रिय खेलमा सङ्घले भाग लिन पाउँदैन।

घटना के हो ?

भारतीय इक्वेस्ट्रियन महासङ्घको आयोजना र अन्तर्राष्ट्रिय टेन्ट पेगिङ्ग महासंघ (आईटीपीएफ)को तत्त्वावधानमा यही मार्चको १६ देखि १८ तारिखसम्म सम्म ग्रेटर नोयडामा इक्वेस्ट्रियनको ‘टेन्ट पेगिङ वर्ल्ड कप क्वालिफायर्स’ प्रतियोगिता भएको थियो। उक्त प्रतियोगिताको विजेता सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छानिने थियो। विजेता बन्दै भारत विश्वकपका लागि छानिएको छ। प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, बेलारुस र अमेरिका तथा नेपालको सहभागिता भएको भनिएको थियो। तर नेपालको प्रतिनिधित्व गर्ने टोलीका चारजनै सदस्य भारतीय रहेको बताइएको छ। टीम दर्तामा तिनीहरूको नाम थियो– योगेन्दर, गुलाम मोहम्मद, कपिल र विनय।

भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाए अनुसार ती खेलाडीहरू भारतीय नागरिकहरूलाई योगेन्दर, गोलम, केपिल र विनय हुन्। तिनीहरूको नामको गलत उच्चारण गरिँदै स्कोर कार्डमा थर समेत राखिएको थिएन। तर प्रतियोगिताका बेला भारतीय खेलाडीहरूलाई दर्शकहरूले अर्कै देशबाट खेल्दै गरेको देखेपछि खबर फैलिएको थियो। सो टोलीले समग्रमा काँस्य पदक समेत प्राप्त गर्‍यो। नेपालका अध्यक्ष राजकर्णिकार भन्छन्, “इक्वेस्ट्रियनमा सीमित खेलाडीहरू छन्। चिनिने नै भयो।”

किन त्यसो गरियो ?

आईटीएको नियम अनुसार विश्वकप छनोटको आयोजना गर्न कम्तीमा पाँच राष्ट्रको सहभागिता अनिवार्य रूपमा हुनुपर्छ। ग्रेटर नोयडाको सो प्रतियोगितामा सुरुमा सात राष्ट्र भारत, अमेरिका, पाकिस्तान, बेलारुस, रुस, सुडान र बहराइन गरी सात देशले सहभागिता जनाउने भएको खबरहरूमा उल्लेख छ। तर रुस, सुडान र बहाराइनले अन्तिम समयमा आएर नाम फिर्ता लिएको बताइएको छ। कोरोनाभाइरस सङ्क्रमणका माझ अमेरिकाको सहभागिता पनि निश्चित नभएको तथा पाकिस्तानको सहभागितामा भिसा समस्या देखिएपछि आयोजकलाई टोली पुर्‍याउन धौधौ भएको बताइन्छ। सम्भवतः त्यसैले नेपालको नामबाट भारतीय खेलाडीहरूलाई नै सहभागिता गराएको हुनसक्ने अध्यक्ष राजकर्णिकार बताउँछन्।

आरोप नेपाललाई

हुन त भारतीय इक्वेस्ट्रियन महासंघ (आईईएफ) ले घटनाको छानबिन सुरु गरिसकेको जनाएको छ। तर आईईएफका महासचिवले नेपालबाट आधिकारिक रूपमा आएको पत्रको आधारमै खेलाडीलाई सहभागिता गराएको भन्दै आफ्नो बचाउ गरेको छ। महासङ्घका महासचिव जयवीर सिंहलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ– “नेपाल इक्वेस्ट्रियन सङ्घले नै नाम पठाउँदै स्विकृती जनाएको हो। त्यसैले खेलाडीहरूमाथि कुनै शङ्का भएन। फेरि नेपालीलाई भारत आउनका लागि भिसाको आवश्यकता नपर्ने भएका कारण हाम्रो ध्यान अन्य देशका खेलाडीहरूमा केन्द्रित भयो।” उनले नेपालबाट शिक्षित श्रेष्ठको नाममा इमेल आएको र त्यसैलाई विश्वास गरेको बताएको जनाएको छ। त्यस्तो कुनै व्यक्ति इक्वेस्ट्रियन सङ्घमा नभएको र इमेल पनि गलत भएको अध्यक्ष राजकर्णिकारले बताए।

छानबिन

भारतीय इक्वेस्ट्रियन महासङ्घको अलावा भारतीय ओलिम्पिक कमिटीले पनि यस विषयमा छानबिन गरिरहेको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ। राजस्थान ओलिम्पिक कमिटीले नेपाल ओलिम्पिक कमिटीलाई सम्पर्क गरेको कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द वैद्यले बताए। उनले भने, “राजस्थान ओलिम्पिक कमिटीका महासचिव राघवन्दर सिंहले सम्पर्क गरेका छन्। देशको झण्डाको गलत प्रयोग भएको विषय भएकोले हामीले यताबाट हुने सबै सहयोग गर्ने बताएका छौँ। यो गम्भीर विषय भएकोले हामी निरन्तर पछ्याउनेछौँ।” प्राप्त जानकारी अनुसार नेपाल बाहेक अमेरिकाबाट सहभागी खेलाडीहरूको सवालमा पनि प्रश्नहरू उठ्न थालेको छ। नेपालको सहभागिता रद्द हुने निश्चितप्रायः रहेको जानकारहरू बताउँछन्। तर विश्वकपको लागि छानिसकिएको भारतको ओलिम्पिक भविष्य के होला त्यो छानबिनको नतिजाले बताउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.