२०८१ साल सम्म याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री

डिसी नेपाल
२० चैत २०७७ १७:१५
392
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौंमा आएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताएका छन् । उनले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौं आउने विश्वास व्यक्त गरे ।

भृकुटीमण्डपस्थित मेलम्चीको पानी वितरणको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वि.सं.२०८१ साल सम्ममा दुई नदीको पानी काठमाडौ आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले मन्त्रालयलाई यसै अनुसार काम अगाडि बढाउन निर्देशन समेत दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी छन्। भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा भएका प्रयासका सन्दर्भममा पनि आफ्नो धारणा राखेका थिए ।

उनले पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगती गरेको बताए । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्कोसँग नबाँझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री औलीले आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताए । यससँगै प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएकै कारण देशमा विभिन्न अन्यौलता उत्पन्न भएको अवस्थामा सरकारलाई फेरि पनि काम गर्न नदिन विभिन्न बाधाहरु उत्पन्न भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *