विश्वकप जितेकै दिन धोनीले आधा रातमा आफ्नो कपाल किन खौरिएका थिए ?

डिसी नेपाल
२१ चैत २०७७ १३:१९
528
Shares

काठमाडौं। हिजो २ अप्रिलका दिन भारतले दोस्रो पटक एकदिवसीय क्रिकेट विश्वकप जितेको १० वर्ष पूरा भयो । २०११ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले श्रीलंकालाई पराजित गर्दै विश्वकप जितेको थियो । यो दिन उपाधि जितेलगत्तै कप्तान महेन्द्र सिंह धोनीले आफ्नो कपाल खौरिएका थिए ।

धोनीले फाइनल जित्नासाथ मध्यरातमा कपाल खौरिएपछि टिमका साथी खेलाडीहरु नै चकित परेका थिए । तर, धोनीले कसैलाई पनि आफ्नो योजनाबारे बताएका थिएनन् र त्यसपछि पनि उनले किन कपाल खौरिएको भनेर बताएनन् । त्यतिबेलाका भारतीय टिमका म्यारेजर रंजीव बिस्वालले १० वर्षपछि धोनीको यो निर्णयबारे कुरा गरेका छन् ।

बिस्वालले भारतीय मिडियासँग कुरा गर्दै त्यस दिन जीतपछि खेलाडीहरुले बिहान साढे ४ बजेसम्म पार्टी गरेका थिए । र, बिहान खेलाडीहरुले धोनीले कपाल खौरिइसकेको देखेपछि उनीहरु चकित परेका थिए । त्यतिबेला विश्वकप यात्राको क्रममा यो सबैभन्दा आश्चर्यजनक पल भएको बिस्वालले बताए । उनका अनुसार बिहान धोनी यस्तो रुपमा देखिन्छन् भन्ने कसैले पनि अनुमान गरेका थिएनन् ।

बिस्वालका अनुसार धोनी आफ्ना भावनाहरु आफूभित्रै राख्छन् । उनी यस्ता कुराहरु अरुलाई बताउँदैनन् । बिस्वालका अनुसार सम्भवतः धोनीले कुनै संकल्प लिएका थिए त्यसैले उनले विश्वकप जितेपछि कपाल खौरिएको हुन सक्छ । यद्यपि बिस्वाल पनि विश्वासका साथ यही कारण थियो भन्न सक्दैनन् । केहीले विश्वकप सुरु हुनुअघि धोनी राँचीमा घरनजिकैको मन्दिरमा गएर भाकल गरेको र पुजारीले उनलाई बिहान पौने ३ देखि ३ बजेको बीचमा कपाल खौरिन सल्लाह दिएको पनि दावी गरेका थिए । तर, अहिलेसम्म यसको स्पष्ट जवाफ कसैसँग छैन र स्वयं धोनीबाहेक अरुले सम्भवतः यसको जवाफ दिन सक्ने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.