फखर जमानले १९३ रन बनाउँदा पनि हार्यो पाकिस्तान, डिककको हर्कतको कडा आलोचना

डिसी नेपाल
२३ चैत २०७७ ११:३७
1.4k
Shares

काठमाडौं। दक्षिण अफ्रिका र पाकिस्तानबीचको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १७ रनले पराजित गर्दै सिरिज १–१ ले बराबरी गरेको छ । कप्तान टेम्बा बाभुमाको ९३, क्विन्टन डिककको ८०, रेसी भान डेर डुसेनको ६० र डेभिड मिलरको ५० गरी ४ अर्धशतकको मद्दतमा दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३४१ रन बनाएको थियो । जवाफमा पाकिस्तानका फखर जमानले १५५ बलमा १९३ रन बनाए पनि टिमले ५० ओभरमा ९ विकेटको षतिमा ३२४ रन मात्र बनाउन सक्यो । अब तेस्रो एकदिवसीय ७ अप्रिलमा सेन्चुरियनमा खेलिनेछ ।

फखर जमानले टिमलाई जीत दिलाउन त सकेनन् तर उनले एकदिवसीय इतिहासमा विश्वरेकर्ड भने बनाए । उनले खेलेको १९३ रनको इनिङ एकदिवसीयमा लक्ष्य पिछा गर्ने क्रममा बनेको सबैभन्दा ठूलो स्कोर हो । यसअघि यो रेकर्ड अस्ट्रेलियाका शेन वाटसनको नाममा थियो । वाटसनले २०११ मा बंगलादेशविरुद्ध १८५ रनको नटआउट इनिङ खेलेका थिए । त्यसअघि भारतका महेन्द्र सिंह धोनीले २००५ मा श्रीलंकाविरुद्ध लक्ष्य पिछा गर्दै १८३ रन बनाएका थिए ।

१४२ रनको पिछा गरिरहेको पाकिस्तानले २४.३ ओभरमा १२० रनको स्कोर बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यतिबेलासम्म फखर जमानले ६७ बलमा ४३ रन मात्र बनाउन सकेका थिए । त्यसपछि फखरले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जीतको बाटोमा लगेका थिए । उनले १५५ बलमा १८ चौका र १० छक्का हान्दै १९३ रन बनाए । यसबाहेक पाकिस्तानको लागि अन्य कुनै ब्याट्सम्यानको ठूलो स्कोर भनेको कप्तान बाबर आजमको ३१ रन थियो । अन्य ब्याट्सम्यानले २० रन पनि बनाउन सकेनन् ।

फखर जमान अन्तिम ओभरको पहिलो बलमा रन आउट भए । यसका लागि दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डिककले फखर जमानलाई झुक्याएका थिए । डिककले जसरी झुक्याए त्यसको सार्वजनिक रुपमा सामाजिक संजालमा कडा आलोचना भइरहेको छ । क्रिकेटको नियम बनाउने मेरिलेबोन क्रिकेट क्लवले ब्याट्सम्यानलाई डिककले झुक्याएको हो वा होइन भन्ने ठहर गर्ने जिम्मा अम्पायरको हुने भन्दै यदि झुक्याएको ठहर भएमा ब्याट्सम्यान नटआउट हुने र ब्याटिङ गर्ने टिमले ब्याट्सम्यानले दौडिएर बनाएको रनका साथै थप ५ रन पेनाल्टी पाउने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.