कोरोना नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग माग गरेको छ ।
कांग्रेस सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेसले कोरोनाविरुद्ध आम जनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाउन र खोप र आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्न माग गरेको छ ।
यस्ता छन् कांग्रेसका मागहरु
१. गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्।
२. अन्तर्राष्ट्रिय उडानबाट आउने र सिमा नाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्।
३. कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस्।
४. कोभिड—१९ कोविरुद्ध आम जनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्।
५. स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्। साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्।
६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौँ।
७. देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ।
८. समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ।







डिसी नेपाल







Facebook Comment