क्रिकेटका दुई दाजुभाई नेपाल र मलेसिया एकआपसमा भिड्दै
काठमाडौं । एसियाली क्रिकेटका दुई चिरपरिचित दाजुभाई नेपाल र मलेसिया आज टियु क्रिकेट मैदानमा एक आपसमा भिडदै छन । नेपाल क्रिकेट संघ क्यानको आयोजनमा गत ४ गतेबाट सुरु भएको त्रिदेशीय टि–२० सिरिजमा दुबै टोली भिडने भएका छन । नेपाल र मलेसियाको सम्बन्ध वैदेशिक रोजगारीको लागि मात्र नभएर क्रिकेटमा पनि उत्तिकै रहेको छ । मलेसियन भाषामा नेपाल र मलेसियाको सम्बन्धलाई ‘आडे ब्राडे’ को सम्बन्ध अर्थात दाजुभाईको सम्बन्ध भनेर पनि चिनिन्छ । आईतवार नेदरल्यान्डसँग पराजित भएपछि मलेसियाका कप्तानले सोमवारको खेल नेपाल र मलेसियाको मात्र नभएर दाजुभाईबीचको खेल हुने प्रतिक्रिया दिइका छन । उनले मलेसियामा पनि धेरै नेपालीहरु रहेको र उनीहरु समय समयमा मलेसियामा हुने क्रिकेटलाई समर्थन गर्न मैदानमै आउने गरेको बताए ।
टि–२० अन्तर्राष्ट्रियमा नेपाल र मलेसिया हालसम्म कुल ४ पटक आमनेसामने भएका छन्। टि–२० फर्म्याटमा पछिल्लो ५ वर्षमा दुई देश ५ पटक भेट भएका छन्। गत अक्टोबर ६, २०१८ मा भएको आईसीसी टि–२० विश्वकप एसिया छनोट ‘बि’ प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट क्षेतीमा पुरा गरेको थियो। खेलमा नेपालका लागि पारस खड्काले सर्वाधिक ५२ रन बनाएका थिए भने बलिंगमा सन्दिप लामिछानेले ५ विकेट लिएका थिए। मलेसियाका लागि शफिक शरिफले सर्वाधिक ४९ रन योगदान दिएका थिए।
जुलाई १३, २०१९ मा नेपालले मलेसिया भ्रमण गर्दा भएको पहिलो टि–२० मा नेपाल ७ विकेटले विजयी भएको थियो। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट क्षेतीमा १८.३ ओभरमा भेटाएको थियो। नेपालको लागि पारस खड्काले अविजित ८६ रन बनाएका थिए। मलेसियाको ब्याटिंगमा भिरनदिप सिंहले ५७ तथा एहमद फैजले ४५ रन बनाएका थिए। बलिंगमा नेपालको लागि करन केसीले ३ तथा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिएका थिए।
जुलाई १४, २०१९ मा नेपालको मलेसिया भ्रमणको दोस्रो टि–२० मा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २० ओभरमा ७ विकेट क्षेतीमा १६७ रन बनाएको थियो। मलेसियाका सयद अजिजले सर्वाधिक ५० रन बनाएका थिए। नेपालको बलिंगमा सोमपाल कामि र सन्दिप लामिछानेले समान २ विकेट लिएका थिए। यस अघि नेपालले २० ओभरमा ६ विकेट क्षेतीमा १७३ रन बनाएको थियो। नेपालको लागि बिनोद भण्डारीले ५१ रन तथा शरद भेसावकरले ४० रन बनाएका थिए।
२४ जुलाई २०१९ मा भएको टि–२० विश्वकप एसिया छनोट २०१९ को उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। निर्धारित ९ ओभरको खेलमा मलेसियाले दिइएको ८४ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ८ ओभरमा भेटाएको थियो। नेपालको ब्याटिंगमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाएका थिए। नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिएका थिए।
२९ फेब्रुअरी २०२० मा थाइल्याण्डमा सम्पन्न एसीसी टि–ट्वान्टी इस्टर्न प्रतियोगितामा नेपाललाई २२ रनले स्तब्ध पार्दै नेपाल बिरुद्ध टि–२० अन्तर्राष्ट्रियमा पहिलो जित दर्ता गर्न सफल भएको थियो। ब्यांगकक स्थित टेर्ड थाई मैदानमा सम्पन्न खेलमा मलेसियाले टस जितेर ब्याटिंग गर्दै दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा १३२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। नेपालको लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीले समान ३८ रन तथा पवन सर्राफले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। मलेसियाको बलिंगमा दायाँ हाते पेसर शर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिएका थिए। मलेसियाको ब्याटिंगमा सयद अजिजले सर्वाधिक ५१ रन बनाएका थिए। नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए।







डिसी नेपाल







Facebook Comment