भुईँचालोमा घरले पुरिएर निकालिएकी एक वृद्धा, मन्दिरमा भिख माग्न बाध्य
काठमाडौं। चामल र पैसा हाल्ने सानो टोकरी लिएर बसेकी ६१ वर्षीया एक वृद्धा भिक्षा लिन निश्चित मान्छे कुरेर मन्दिरको छेउमा बसिराखेकी थिइन्। भिक्षा माग्न बसेकी उनी त्यस दिन भिक्षास्वरुप अलि धेरै पैसा दिने मान्छे कतिबेला आउलान् र पैसा देलान भनेर यताउती आँखा डुलाउँदै थिइन्।
सुकिली देखिएकी ती वृद्धा भिख माग्न बसेको भनेर अरुले हेय दृष्टिले हेर्लान् कि जस्तो गरी भनिन्, ‘मलाई चिन्ने दुई–चार जना यहाँ आएर पैसा दिनुहुन्छ त्यही भएर आज आएकी हुँ।’
सानो स्वरमा बोल्ने उनले दायाँ हात देखाउँदै भनिन्, ‘भुईंचालोले घर भत्किएर म पुरिएको थिएँ, त्यसैले यो हातले काम गर्न गाह्रो हुन्छ। यो मन्दिरमा मंगलबार र शनिबार मात्र बस्छु। एक–दुई जना साहुहरु आएर हजार, पाँच सय दिनुहुन्छ।’
उनी बसेको घर २०७२ बैशाख १२ गते गएको भूकम्पले पूरै ध्वस्त भएको थियो। त्यो दिन घरको माथिल्लो तलामा खाना पकाउँदै गरेकी उनले भाग्यले बाचेको सुनाइन्।
उनले भनिन्, ‘भुईंचालो आउदा म कोठामा खाना पकाउँदै थिए। घर भत्किएर म त पुरिएको थिएँ, ठूलो कालले बाचेको हो नि। मुखभरी माटो खादिएको थियो। हस्पिटल लगेको त मलाई थाहै भएन। नजिकै बनाउँदै गरेको घरको डण्डीमा कसो परिन।’ उनले अगाडि भनिन्, ‘डण्डीमा परेको भए म त्यतिबेलै मर्थे। भुईंचालो आएको बेला त्यसदिन त्यो घरमा नाती, म र छोरा मात्रै थियौं। मेरो छोरा, नातिलाई केही भएन म मात्रै पुरिए। उनीहरु अर्को कोठामा फिल्म हेरेर बसिराखेका थिए। घर पहिला एकसाइडमा भत्कियो र पछि पुरै भत्कियो। म माथिबाट पुरिएर तलै झरेको थिए।’
भूकम्प गएको बेला उनको परिवार ओमबहालमा दुई कोठा भाडामा लिएर बसेको रहेछ। उक्त घर भत्किएर पुरिएपछि शरीर कमजोर भएको बताउने उनी भन्छिन्, ‘भुईँचालोले पुरिएर यो (दायाँ) हातले काम गर्न गाह्रो हुन्छ। हात सबै चिरेको हो, हातको सबै नसा गुटमुटिएको थियो रे। अप्रेशन गरेपछि औषधि खानु भनेको थियो, त्यतिबेला औषधि खानलाई पैसा भएन अनि कमजोर भएको हो। मेरो दाँत(देखाउँदै) पनि सबै भुईँचालोले कुच्चिएको हो। सबै हल्लिएको छ, दुख्छ।’
परिवारमा एक छोरा, नाति र आफू भएको बताउने उनले श्रीमानको भने धेरै रक्सी खाएकै कारण १५ वर्षअघि मृत्यु भएको दुखेसो गरिन्। जेठा छोरा पनि धेरै रक्सी खाएकै कारण तीन वर्ष अघि सुन्धारामा मृत अवस्थामा भेटिएको उनले सुनाइन्।
जेठो छोरालाई अरुले नै मारिदिएको आशंका गर्दै उनले भनिन्, ‘अहिले मसँग भएको कान्छो छोराले त रक्सी खाँदैन। एउटी छोरी छिन्, उनको विवाह भइसकेको छ। कान्छो छोरा मसँगै बस्छ, ज्यालादारी काम गर्छ, कान्छो छोराकी श्रीमती(बुहारी) नौ महिनाको बच्चा छोडेर अन्तै विवाह गरेर गइन्। अहिले कोठामा छोरो र म मात्रै छौं। कान्छो छोराको छोरा (नाति)लाई चाहीँ संस्थामा राखिदिएको छु। उ सातमा पढ्छ, उसलाई हप्ताको एक दिन शनिबार भेट्न जान्छु।’
हप्तामा दुई दिन मन्दिरमा भिक्षा माग्न बस्ने र अरु बार भने माडवाडीको घरमा गएर बिहान बेलुका भाँडा माझ्ने काम गर्ने गरेको बताउने उनले भनिन्, ‘यहाँ बस्दा पैसा आउछ। यहाँको पैसाले बाबु (नाति) लाई बिस्कुट किनेर लगिदिनु पर्छ। यहाँ बस्दा कहिले काहीँ त दिनकै तीन–चार हजारसम्म पनि कमाउँछु।’
भुईँचालोले शरीरमात्र बचेको उनलाई पछि त्यही घरका घरबेटी, छरछिमेकी लगायत सबैले भाडाकुडादेखि लिएर सबै चिज किनिदिएर सहयोग गरेको उनले बताइन्। भूकम्प गएको बेलामा बुढा, दुईवटै छोरा र आफ्नो गरी चारवटा नागरिकतासमेत हराएको उनले सुनाइन्। नागरिकता पुरिएर हराएकोले उनले आजसम्म विधवा भत्तासमेत लिन पाएकी छैनन्।
हाल इन्द्रचोकमा ३५ सयको कोठामा बस्दै आएकी उनको कोठाभाडा कहिले काम गरेको ठाउँका माडवाडीहरुले तिरिदिन्छन् त कहिले छोराले र कहिले आफैले कमाएर तिर्ने गर्छिन्। फोटो खिचेर फेसबुकतिर उनको बारेमा केही लेखेर नराखिदिन आग्रह गर्दै उनले भनिन्, ‘यहाँ बसेको मेरो फोटो फेसबुकमा आयो भनेर छोराले किन खिच्न दिएको भनेर गाली गर्यो। छोरा, छोरी रिसाउछन्, मेरो केही पनि फेसबुकमा नहालिदिनु है।’
No ads found for this position


Facebook Comment