फ्रन्टलाइनर भन्छन् -आफू कसरी बच्ने भन्दा पनि परिवार कसरी बचाउने चिन्ता छ

उपेन्द्र शाही
१५ वैशाख २०७८ ७:०१

काठमाडौं। कोरोना भाइरसको नयाँ लहर सुरु भएसँगै जनमानसमा त्रास र चिन्ता बढेको छ। सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै देशका १४ वटा जिल्लामा निशेधाज्ञा समेत जारी गरीसकेको अवस्था छ। यता संक्रमण बढ्दै गएकाले अरु थप जिल्लामा पनि निशेधाज्ञा हुने निश्चित जस्तै छ।

तर, कोरोना भाइरस संक्रमणले भयावह रुप लिँदै गरेको अवस्थामा पनि ठूलो जोखिम मोलेर काम गर्न बाध्य छन् फ्रन्टलाइनरहरु। उनीहरु आफूलाई भन्दा पनि आफू मार्फत आफन्तसम्म कोरोना सर्छ कि भन्ने त्रासमा छन्। तै पनि जनतालाई सेवा दिने काममा दिन रात नभनी खटिरहेका छन्।

यस्तैमध्ये एक हुन्, सिभिल अस्पताल काठमाडौंमा कोरोना विरुद्धको खोप लगाउने कार्यमा खटिएकी कञ्चनपुरकी सिर्जना धानुक। ‘सरकारले खटाएको छ। हामीले बाध्यताबस काम गर्नु परिरहेको छ।’ संक्रमण जोखिम त हामीलाई धेरै छ, त्यो थाहा हुँदा हुँदै पनि काम गरिरहेकी छु। जनतालाई सेवा दिनु धर्म हो जस्तो लाग्छ। त्यसैले आफूलाई कोरोना लागे पनि अरुलाई निको पार्न खटिएकी छु।’

उनले भनिन्, ‘घरका मान्छे पनि धेरै चिन्तित छन्। काम नगरे पनि हुन्छ नानु भनेर ड्याडी मम्मीहरुले प्रत्येक दिन फोन गर्नु हुन्छ। पछि अवस्था ठिक भए पछि काम पाए ठिकै छ, नपाए पनि केही फरक पर्दैन भन्नु हुन्छ। तर, म केही हुँदैन भन्दै रिस्क लिएर काम गर्दै आइरहेकी छु।’

विदेशी सञ्चारमाध्यममा समाचार सुन्दा र पढ्दा त काम नगारौँ जस्तो पनि लाग्छ उनलाई कहिले काँही। तर, गर्ने भनेको हामी युवाहरुले नै हो भन्ने ठानेर चित्त बुझाउँछिन्। यस्तो समस्या र आपत पर्दा खटिएर काम गर्ने हो नकि जिम्मेवारी छोडेर भाग्ने जस्तो लाग्छ सिर्जनालाई । जनता, समाज र देशका लागि जोखिम लिएर भए पनि आफूले अरुको सेवामा खटिन पाउँदा खुशी छु भन्छिन् उनी।

यत्रो कोरोनाको संक्रमण त्रास हुँदा हुँदै पनि जानेर हो अथवा नजानेर मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको देख्दा भने अलि नरमाइलो लाग्ने उनले सुनाइन्। ‘अहिले हाम्रो सामु ठूलो महामारी छ। म एक्लै अथवा हामी एक दुइ जनाले मात्रै गरेर महामारी नियन्त्रण हुँदैन्। यसमा सबै सचेत र सजग हुन जरुरी छ। सबै मिलेर लड्नु पर्ने भएकोले सरकारले पालना गर्न लगाएका स्वास्थ्य सावधानीका उपाय अपनाउन म सबैलाई अनुरोध गर्दर्छु’, उनले भनिन्।

‘सरकारले खटाएको छ। फिल्डमा खटिनै पर्यो। हामीलाई संक्रमण नहुने त प्राय हुँदैन्। संक्रमणको उच्च जोखिममा हुँदा हुँदै पनि काम गरिरहेको छु।’ काठमाडौंको बानेश्वर चोकमा ट्राफिक चेक जाँचमा बसेका थमन नेपाली भन्छन्, ‘यसबेला पनि सबै सवारी चेक जाँच गर्नै पर्छ। सवारी कागजात चेक गर्दा, मापसे चेक गर्दा त झन उच्च जोखिम हुन्छ नि। मलाई त पहिले पनि ड्युटीमा खटिदा कोरोना संक्रमण भएको थियो। आफू त खतरा मोलेर खटिउँला, तर, घरमा छोरा छोरी र बुढी आमा हुनुहुन्छ। ममार्फत उनीहरुलाई संक्रमण हुने हो कि भन्ने ठूलो चिन्ता छ। तर, के गर्नु सरकारले खटाएको छ काम गर्नै पर्यो।’

सेनीटाइजर र थर्मोगन हातमा बोकेर बैंकमा आउने मानिसहरुको ज्वरो नापी रहेका थिए, स्ट्याण्डर्ड  चार्टड बैंकमा बर्डी गार्डको काम गरिरहेका रामेछापका नरेन्द्र कार्की। धेरै जोखिम लिएर काम गर्नु बाध्यता भएको उनी बताउँछन्।

‘डर त लाग्छ नि तर, के गर्नु? आफ्नो र छोरा छोरीको पेट पाल्नकै लागि भए पनि काम गर्नै पर्यो। एकातिर आफूलाई र घर परिवारमा कोरोना सर्लाकी भन्ने चिन्ता छ। अर्कोतर्फ काम नै नपाएर भोकै परिने हो कि भन्ने चिन्ता छ। यो थर्मोगनको के भर ? कतिखेर ९७ देखाउँछ कतिखेर ९९ ।  मुख हेरेर कसलाई कोरोना छ भन्ने थाहा पाइँदैन। डर डरमा काम गर्नु परिरहेको छ। आफूलाई भए पनि घर परिवारलाई कारोना संक्रमण हुने हो कि भन्ने ठूलो चिन्ता छ।’

अहिले कोरोनाको जोखिम हुन्छ भन्ने थाहा पाएर पनि काममा खटेका केही प्रतिनिधि पात्र मात्रै यहाँ प्रस्तुत गरिएको छ । काम गर्नै पर्ने बाध्यताका कारण आफ्नो स्वास्थको प्रवाह नगरी खटिएका यी युवाको ज्यान सुरक्षित पार्न तपाईं हामीले मास्क लगाउन जरुरी छ। अनावश्यक घरबाट बाहिर ननिस्क्दा नि सहयोग पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *